अदुवा खेतीतर्फ किसानको आकर्षण

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का किसान अदुवा खेतीतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लामा अदुवा उत्पादन राम्रो हुने र बजारीकरणमा कुनै समस्या नभएकाले अदुवा खेतीतर्फ किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बागवानी विकास अधिकृत शङ्कर पौडेलले पछिल्लो समय अदुवा खेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा समेत वृद्धि हुँदै गएको बताए । आर्थिक वर्ष २०७६/७७ मा जिल्लाको ८७० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएकामा आठ हजार ९९० मेट्रिक टन उत्पादन भएको पौडेलले बताए । त्यस्तै आव २०७७/७८ मा ९०० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिँदा नौ हजार ८०० मेट्रिक टन उत्पादन भएको पौडेलको भनाइ छ ।

चालु आव २०७८/७९ मा जिल्लाको ९५० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएकामा नौ हजार ९५० मेट्रिक टन अदुवा मात्रै उत्पादन भएको छ । अदुवा खेतीको विस्तार भए पनि उत्पादकत्व भने खासै बढ्न नसकेको सूचना अधिकारी पौडेलले बताए । जिल्लामा पछिल्ला तीन वर्षको अवधिमा अदुवाको उत्पादकत्व प्रतिहेक्टर १०.३७ मेट्रिक टनदेखि १०.८९ मेट्रिक टन मात्रै रहेको पौडेलको भनाइ छ ।

footwear zone

जिल्लामा उत्पादन भएको ताजा अदुवा स्थानीय बजारसँगै काठमाडौं, पोखरा, नाराणगढ, बुटवलसहितका बजारमा बिक्री हुने गरेको उल्लेख गर्दै सूचना अधिकारी पौडेलले बढी भएको अदुवाको सुठो बनाएर बिक्री गर्ने गरिएको जानकारी दिए । अन्य खेती नहुने खाली जमिनमा पनि अदुवाको उत्पादन हुने भएकाले कृषक अदुवा खेततर्फ आकर्षित भएका पौडेलले बताए । जिल्लाको पहाडी क्षेत्रमा अदुवा खेती राम्रो हुने गरेको छ ।

You might also like

Comments are closed.