पोखरा जोमसोम उडान पुनः सुचारु

म्याग्दी । पोखरा–जोमसोम हवाई उडान सेवा दुई महिनापछि सञ्चालन भएको छ । हिउँदको प्रतिकूल मौसम र कोरोना (भाइरस) सङ्क्रमणका कारण यात्रु नभएकाले गत पुस दोस्रो हप्तादेखि पोखरा–जोमसोम हवाई सेवा बन्द भएको थियो ।जोमसोमस्थित नागरिक उड्यन कार्यालयका प्रमुख पुस्कलराज शर्माले दुई महिनापछि पोखरा–जोमसोम उडान हुन थालेको जानकारी दिए । “समिट एयरले शनिबार र आइतबार दुई/दुई वटा चार्टड फलाइट गरेको छ,” उनले भने, “तारा एयरले पनि उडानको तयारी गरेको छ ।” पोखरा–जोमसोम हवाई मार्गमा सामान्य अवस्थामा तारा र समिट एयरले दैनिक पाँच/पाँच वटा उडान भर्दै आएका छन् ।

हवाई उडान चालु भएपछि स्थानीयवासीका साथै मुस्ताङ जाने–आउने पर्यटकलाई सहज भएको छ । मार्चको ७ तारिकदेखि नियमित उडान हुने जोमसोम विमानस्थलले जनाएको छ । भारतीय पर्यटक पनि हवाई मार्ग भएर मुस्ताङ पुग्न थालेका हुन् ।

हिउँदयाम सकिएको र कोरोनाको जोखिम न्यूनीकरण हुँदै गइरहेकाले भारतीय तथा तेस्रो मुलुकका पर्यटक हवाई मार्ग भएर मुस्ताङ पुगी फर्कनका लागि टिकट बुकिङ हुन थालेको छ । स्तरोन्नतिका लागि भन्दै मुस्ताङलाई सडक सञ्जालसँग जोड्ने बेनी–जोमसोम सडकको विभिन्न ठाउँमा दैनिक आठ घण्टा बन्द हुने गरेको छ ।

footwear zone

अहिले सडकमार्ग भएर पनि मुस्ताङ पुग्ने पर्यटकको सङ्ख्या बढ्न थालेको छ । घाँसा प्रहरी चौकीका अनुसार दैनिक एक हजार ५ सय पर्यटक सडक मार्ग भएर मुस्ताङ भित्रिएका छन् । चौकीका इञ्चार्ज मनबहादुर कार्कीले दैनिक तीन सयको हाराहारीमा मोटरसाइकल, स्कार्पियो जीप र बसमा पर्यटक मुस्ताङ भित्रिएका बताए । मुक्तिनाथ मन्दिर, कागबेनीलगायत धार्मिक र पर्यटकीयस्थलमा चहलपहल बढेको छ । मुक्तिनाथ मन्दिरका कर्मचारी रवीन सुवेदीले गर्मी बढ्नाका साथै कोरोना सङ्क्रमण दर पनि घटेपछि तीर्थयात्रीको आगमन हुन थालेको बताए ।

You might also like

Comments are closed.