सुरेन्द्र पौडेल, पोखरा । युवा व्यवसायी दर्शन लामा अटोमोबाइल व्यवसायमा प्रवेश गरेका छन् । अमेरिकन प्रिमियम ब्राण्ड जीपको लागि पोखरा क्षेत्रको डिलर लिदै उनले अटोमोबाइल व्यवसायमा आफूलाई प्रवेश गराएका हुन् । पोखरा महानगरका वडा अध्यक्षमध्ये लोकप्रिय जनप्रतिनिधिको पहिचान बनाउन सफल लामा नेकपा एमाले कास्कीका उपसचिव समेत हुन् । राजनीतिमा लाग्ने व्यक्तिहरु व्यावसायिक रुपमा पनि सफल र सक्षम हुनुपर्छ भन्ने मान्यता राख्ने लामा टेक्सटायल व्यवसायमा समेत आबद्ध छन् ।

लामा एसएलसी उत्तीर्ण भएदेखि नै राजनीति र व्यावसायिक रुपमा सक्रिय छन् । उनले २०५७ मै बेकरी व्यवसाय सञ्चालन गरेका थिए । अध्ययन र व्यवसायलाई सँगसँगै अगाडि बढाएका लामाले २०६३ बाट कम्प्युटर ट्रेनिङ सेन्टर सञ्चालन गरेका थिए । अटोमोबाइल व्यवसायमा राम्रो सम्भावना रहेकाले आफूले पछिल्लो समय जीप पोखरामा लगानी गरेको लामा बताउँछन् । ‘राजनीति गर्ने व्यक्तिहरु कुनै न कुनै व्यावसायिक क्षेत्र तथा आयआर्जनको क्षेत्रमा आबद्ध हुनुपर्छ,’ लामाले भन्छन्, ‘राजनीति समाज सेवाका लागि गरिरहेको छु । व्यवसाय आयआर्जनका लागि गरिरहेको छु ।’

लामा पोखरा महानगरपालिका वडा नं. १३ का वडा अध्यक्षसमेत हुन् । गत स्थानीय तहको निर्वाचनमा लामाले लोकप्रिय मत प्राप्त गरेका थिए । पोखराका वडा अध्यक्षहरु मध्येमा लामा लोकप्रिय जनप्रतिनिधि बन्न सफल छन् । पार्टीमा उनी कास्की जिल्ला कमिटिको उपसचिवको जिम्मेवारीमा छन् । पार्टी उपसचिवमा समेत उनले लोकप्रिय मत प्राप्त गरेका थिए ।

२०५८ मा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको आर्वा उपाध्यक्ष हुँदै राजनीतिमा सक्रिय भएका लामा त्यसपछि क्रमशः युवा संघ क्षेत्रीय कमिटि, जिल्ला कमिटि हुँदै युथ फोर्स कास्कीको प्रमुख भएर काम गरेका थिए । युवा संघ कास्कीको उपाध्यक्ष र अध्यक्षको समेत जिम्मेवारी बहन गरिसकेका लामा युवासंघ भएपछि केन्द्रीय सदस्य तथा युथ फोर्सको केन्द्रीय विभागको प्रमुख भएर जिम्मेवारी बहन गरेका थिए । पार्टीमा यस अगाडि क्षत्रीय कमिटि र जिल्ला कमिटिमा रहेर काम गरिसकेका छन् ।

पछिल्लो समय दर्शनको लगानी रहेको जीप शोरुममा लामासँगै युवा व्यवसायीहरु सन्तोष बास्तोला र शिवनाथ सिग्देलकोे पनि आबद्धता छ । जीपको मूल्य ८७ लाख ९० हजार हजार रुपैयाँदेखि २ करोड ७९ लाख ९० हजार रुपैयाँसम्म पर्छ । अमेरिकन प्रिमियम ब्राण्ड भएकाले जीप पोखरा तथा आसपासका क्षेत्रमा लोकप्रिय हुने विश्वास कम्पनीले लिएको छ । नेपालका लागि यसको आधिकारिक बिक्रेता एमएडब्जु लाइफ हो । आगामी दिनमा अन्य व्यावसायिक क्षेत्रमा समेत लगानी बढाउने सोचमा आफू रहेको लामाले बताए ।





Comments are closed.