काठमाडौं । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको युवा तथा साना व्यवासायी स्वरोजगार कोषले बिहीबार स्थापनाको १३औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा कोषले आफ्नो प्रगति विवरणसमेत सार्वजनिक गरेको छ ।
कोषले पुस मसान्तसम्म ११ अर्ब ९ करोड ४८ लाख ३५ हजार रुपैयाँ लगानी गरेको कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले जानकारी दिए । ब्याज अनुदान वितरण गरिएको व्यवसायीहरुको संख्या १३ हजार ७ सय ६५ रहेको उनले बताए ।
विपन्न वर्ग कर्जा रकम ३ अर्ब ८२ करोड २ लाख ८३ हजार ८ सय ८४ रुपैयाँ रहोके छ भने ब्याज अनुदान भुक्तानी भएको रकम १५ करोड ३३ लाख ५ हजार ४९ रुपैयाँ रहेको अधिकारीले जानकारी दिए । लगानी भएको सहकारी संख्या १ हजार ९ सय ६८ वटा छन् भने बैंक तथा वित्तीय संस्था २६ वटा छन् ।

युवाहरुको श्रम र सीपलाई सदुपयोग गरी देशको विद्यमान वेरोजगारी समस्याको समाधानाका लागि वेरोजगार युवाहरुलाई स्वरोजगारका अवसरहरु सृजना गर्ने उद्देश्यले नेपाल सरकारले प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०६३ को दफा २ अनुसार २०६५ सालमा यो कोष स्थापना गरिएको हो । आर्थिक रुपले विपन्न १८ देखि ६० वर्ष भित्रका वेरोजगार युवाहरुलाई स्वदेशमा नै कृषि, कृषिजन्य तथा सेवा व्यवसाय जस्ता स्वरोजगार मूलक कार्यक्रम संचालन गर्न सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराई आर्य आर्जनमा बृद्धि गरी जीविकोपार्जनलाई सहज बनाउनु कोषको मुख्य उद्देश्य छ ।

‘आर्थिक रुपले विपन्न महिला, दलित, आदिवासी जनजाती, मधेसी, थारु सिमान्तकृत, लोपोन्मुख, अल्पसंख्यक, मुस्लिम, अपाङगता भएका व्यक्ति द्वन्द पीडित, पीछडिएको क्षेत्रका व्यक्ति वा समुदाय, गरिब किसानलाई, परम्परागत सीप भएका युवाहरुलाई स्वरोजगार कार्यक्रम संचालन गर्न कर्जा उपलब्ध गराई आर्यआर्जनमा बृद्धि गरी जीविकोपार्जनलाई सहज बनाउनु कोषको मुख्य उद्देश्य हो,’ अधिकारीले भने
पूँजीको अभावमा पलायन हुने शिक्षित तथा अर्धशिक्षित बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने, व्यावसायिक खेती, पशुपन्छीपालन, कृषि तथा वनजन्य उद्योग, पर्यटन घरवास तथा रत्न पत्थरसम्बन्धी वेरोजगारमूलक तालिम प्रदान गर्ने, सम्बन्धित क्षेत्रमै खपत हुने स्थानीय कच्चा पदार्थ र सीपमूलक परियोजनामार्फत् हुने उत्पादनलाई प्राथमिकता दिने र ‘एक गाउँ एक उत्पादन’ एवं ‘एक सहकारी एक मुख्य चिनारी’ सम्बन्धी परियोजनामा लगानी गर्न प्रोत्साहन गर्ने कोषको उद्देश्य हो ।
कोषले नियमित स्वरोजगार, भेरी कर्णाली इकोनोमिक करिडोर, सहकार्यमा आधारित साझेदारी, काठमाडौं उपत्यका स्वरोजगार, कोसी इकोनोमिक करिडोर, तराई–मधेश स्वरोजगार लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । कोषको कार्यालय अनामनगर काठमाडौंमा छ ।




Comments are closed.