लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १७औं संस्करणको लेखनाथ महोत्सव २०७८ को आज बिहीबाट हुँदैछ । चैत ७ गतेसम्म जारी रहने महोत्सवको आज अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए ।

महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि नाराका साथ आयोजित महोत्सवमा विभिन्न बस्तु तथा उत्पादनका गरी तीन सय स्टल राखिदैछन् । महोत्सवको सम्पूर्ण तयार पुरा भइसकेको आत्रेयले जानकारी दिए । ‘उद्घाटन कार्यक्रमलाई लेखनाथ बासीको उपस्थितिले भव्य बनाउने विश्वास लिएका छौं,’ आत्रेयले भने । उद्घाटन कार्यक्रमका अवसरमा विविध सांस्कृतिक तथा जातीय पहिचान झल्कने झाँकी प्रदर्शन हुनेछ ।

प्रदर्शनी एवं बिक्रीका लागि स्टलमा व्यवसायीहरुले सामान राख्ने काम सकिएको बताउँदै अध्यक्ष आत्रेयले महोत्सवको उद्घाटनको प्रतिक्षामा रहेको उल्लेख गरे ।
खाद्यान्न, फेन्सी, अटो, सुचना प्रविधि, स्थानीय उत्पादनका कृषिजन्य सामग्री र हस्तकला लगायतका सामग्रीहरु प्रदर्शनीमा राखिएको प्रचार प्रसार उपसमितिका संयोजक एवं लेखनाथ उद्योग बाणिज्य संघका द्वितीय उपाध्यक्ष गोपिचन्द्र बास्तोलाले बताए ।
बालबालिकाका लागि बालउद्यान, युवा पुस्ताका लागि पप तथा डिस्को जक्की, लोकदोहोरी, महिलाहरुको रत्यौली गीत प्रतियोगिताका साथ पहिलो दिन विभिन्न आमा तथा महिला समूह र जनजातीको झयाँकी र्याली समेत समेटिएको संघका उपमहासचिव जानुका पराजुली अधिकारीले जानकारी दिइन् ।
कोरोनाबाट थलिएको लेखनाथ क्षेत्रको अर्थतन्त्रलाई चलायामान बनाउन महोत्सवले टेवा पुग्ने संघका अध्यक्ष आत्रेयले बताए ।
मौसमको प्रतिकुलता र कोभिड उच्च जोखिमलाई समेत मध्यनजर गर्दै उच्च सतर्कता अपनाइएको अध्यक्ष आत्रेयले जानकारी दिए ।




Comments are closed.