सुरेन्द्र पौडेल, काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशीस्थित नयाँपुलमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । पर्यटन क्षेत्रमा लामो अनुभव संगालेका व्यवसायीहरुको संयुक्त लगानीमा ‘भोटेकोशी हेलि रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा आएको हो । एजिएस हस्पिटालिटीको व्यवस्थापनमा रिसोर्ट सञ्चालनमा आएको हो ।
पहिलो चरणको काम सम्पन्न गरी २०७८ को इभबाट रिसोर्ट सञ्चालनमा आएको हो । पहिलो चरणमा २४ वटा रुमबाट रिसोर्टले सेवा प्रदान गर्न सुरु गरेको छ । रिसोर्ट पूर्ण रुपमा सञ्चालनमा आउँदासम्म रुम संख्या ८४ पुग्नेछ । थप २४ वटा रुम ६ महिना भित्रै तयार हुने बताइएको छ । करिब ९५ रोपनी जग्गामा रिसोर्ट सञ्चालनमा आएको हो । रिसोर्टमा स्विट, सुपरडिलक्स र डिलक्स रुम छन् । रिसोर्टमा फरक–फरक क्षमताका २ वटा कन्फरेन्स हल छन् ।
आन्तरिक तथा बाह्य पर्यटकलाई स्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित रिसोर्ट सञ्चालनको ल्याइएको हो । रिसोर्ट चीनको सीमाबाट १४ किलोमिटरको दुरीमा पर्छ । जहाँ चिनीयाँ पर्यटकको समेत आकर्षक गन्तव्य बन्ने विश्वास लिइएको छ । बजारको भिडभाड भन्दा पर पुगेर शान्त वातावरणमा रमाउन चाहने पर्यटकका लागि रिसोर्ट आकर्षक गन्तव्य बन्ने लगानीकर्ताहरुको विश्वास छ । मिटिङ तथा सेमिनारका लागि पनि रिसोर्ट उपयुक्त गन्तव्य बन्ने एजिएस हस्पिटालिटीले जनाएको छ ।

रिसोर्टमा हिटिङ सिस्टमको स्विमिङ पुलसहित स्पा, साउना, ज्याकुजी लगायतको सेवा सुविधा उपलब्ध छ । रिसोर्टमा चाइनिज र नेपाली रेष्टुरेन्टबाट पर्यटकले आफूले चाहे अनुसारको खानाका परिकार प्राप्त गर्नेछन् । रिसोर्टमा आउने पर्यटकले आफ्नो चाहना अनुसार र्याफ्टिङ, बञ्जी, हाइकिङ, तातोपानी कुण्ड र चाइना बोर्डरको अवलोकनसमेत गर्न सक्नेछन् ।

रिसोर्टमा जान तथा फर्कनका लागि हेलिकोप्टर र बसको छुट्टाछुट्टै प्याकेज बनाइएको छ । हेलिकोप्टरबाट रिसोर्टसम्म पुग्नका लागि विभिन्न हेलि कम्पनीसँग रिसोर्टले सहकार्य गरेको छ ।





Comments are closed.