इन्धनका लागि ‘गुइँठा’

महोत्तरी । जिल्लाका ग्रामीण भेगमा गृहिणी इन्धनका लागि ‘गुइँठा’ (गाईभैँसीको गोबर पथारेर बनाइने दाउरा) को जोहोमा छन् । गाईवस्तु पाल्नेले आफ्नै गोठको र नपाल्नेले चरनका चौरमा गोबर खोज्न निस्कनु यहाँका गृहिणीको दैनिकी नै हो । गोबर पथारेर फरक–फरक आकारका इन्धन प्रयोजनका ‘गुइँठा’, ‘चिपरी’ र ‘गोरहा’ बनाइन्छन् ।

प्रायःजसो जिल्लाका सबैजसो स्थानीय तहका ग्रामीण बस्तीमा अहिले आम महिला ढकी ९बाँसको चोयाले बुनिएको खास भाँडो, ‘छिटी’ पनि भनिन्छ० बोकेर गोबर सङ्कलन गर्न र घरघरै ‘गुइँठा’ बनाउन व्यस्त देखिँदा छन् । आफ्ना वस्तुभाउ नहुने गृहिणी यसरी गोबरको खोजमा सडक, चौरमा छिटी बोकेर निस्कन्छन् । जिल्लाका १५ स्थानीय तहमध्ये १० नगरपालिकामा पनि धेरैजसो ग्रामीण बस्ती नै रहेका हुँदा सबैजसो भेगका गृहिणीको ‘गुइँठा’ बनाउने, सुकाउने र चाङ लगाएर राख्ने काम देखिएको हो ।

“के गर्नु पकाएर खानु परिहाल्छ”, धमाधम गोबरको चिपरी पथार्न व्यस्त देखिएकी बर्दिवास नगरपालिका–९ पशुपतिनगरकी गृहिणी शैलदेवी महतो भन्छिन्, “अहिले अन्य खेती कामको व्यस्तता नभएका बेला बर्खाभरिलाई चाहिने ‘चिपरी’ पथार्दै छु ।”

footwear zone

जिल्लामा खाना पकाउने इन्धनमा बाक्लै प्रयोग हुने गोबरको चिपरी, गुइँठा र गोरहामा आगो ननिभ्ने र खानेकुरा पनि स्वादिलो हुने आम विश्वास छ । योभन्दा पनि इन्धनका लागि अन्य साधनको जोहो गर्न आर्थिक अवस्थाले नसक्नेहरूका लागि त गोबरको जोहो र गुइँठा पथार्ने काम अनिवार्य नै बनेको छ । त्यसो त स्वास्थ्यकर्मी ‘गुइठा’ मा पकाइएको खाना स्वस्थ्यकर हुने बताउँछन् । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झा गोबरका ‘चिपरी’ वा ‘गुइँठा’मा पकाइएको खाना मौलिक स्वादको हुने र स्वस्थ्यकर पनि हुने बताउछन् ।

यहाँका महिला अहिले धेरैजसो कृषि कार्यबाट अलि फुर्सदिलो समय हुँदा वर्षभरिकै इन्धन जम्मा गर्न ‘चिपरी’, ‘गुइँठा’ र ‘गोरहा’ पथार्ने (गोबरको ‘गुइँठा’, ‘चिपरी’ र ‘गोरहा’ बनाउने कामलाई ‘पाथ्ने’ वा ‘पथार्ने’ भनिन्छ) गरेको बताउँछन् । घरमा पशुवस्तु हुनेले आफ्नै गोठको गोबर जम्मा गरेर कुरी (थुप्रो) लगाउने र नहुनेले सडक र चरन क्षेत्रसम्म पुगेर गोबर सङ्कलन गरेर घरवरपर ल्याएर थुपार्ने महोत्तरी मात्र नभएर मध्यपूर्वी तराईकै आम कुरो मानिन्छ ।

यसरी दुई–तीन दिन लगाएर थुपारिएको गोबर अर्को दुई–तीन दिन लगाएर ‘गुइँठा’, ‘चिपरी’ र ‘गोरहा’ पाथ्ने गरिन्छ । सामान्यतया गोबरलाई चाक्लो पारेर घरका भित्ता–भित्तामा पथारिनेलाई ‘चिपरी’, भित्रपट्टि मसिना झिक्रा हालेर लामो डोलो बनाइने साना आकारका लाई ‘गुइँठा’ र भित्रपट्टि पराल हालेर पथारिने ठूला आकारका लाई ‘गोरहा’ भनिन्छ । यद्यपि सगोलमाभन्दा यसलाई ‘गुइँठा’ नै भनिन्छ । यसरी बनाइएका ‘गुइँठा’ घाम राम्रो लाग्ने ठाउँमा चाङ लगाएर राखिन्छ । यस्तो चाङ एक महिनाजति घामले सुकेपछि ‘चिपरी’ र ‘गुइँठा’ पानी नचुहिने, नभिज्ने ठाउँमा थाक बनाएर राखेपछि आवश्यकतानुसार खाना पकाउन प्रयोग गरिन्छ । खासगरी वन क्षेत्र टाढा भएका र घरको अर्थावस्थाले ग्यास किन्ने र प्रयोग गर्ने आर्थिक हैसियत नभएका घरमा इन्धनका लागि ‘चिपरी’ र ‘गुइँठा’ बालेर खाना पकाइन्छ ।

मध्यपूर्वी तराई क्षेत्रमा घरपालुवा पशुवस्तु (गाई, गोरु, भैँसी र राँगा) को गोबर इन्धनमा खर्च हुने भएपछि जग्गा–जमिनमा उत्पादन भने कम हुने र रासायनिक मलको प्रयोग बढेको पाका किसान बताउँछन् । “खेतबारीमा हाल्नुपर्ने कम्पोष्ट मल बनाइने गोबर दाउरामा प्रयोग गरिन्छ”, महोत्तरीकै भङ्गाहा नगरपालिका–६ हतिसर्वा पर्साका ७० वर्षीय किसान दीपलालसिंह थारू भन्नुहुन्छ, “खेतबारी मलिलो बनाउने कम्पोष्ट मल नभएपछि उत्पादन निकै घटेको छ ।”

अब इन्धनमा गोबरको विकल्प नखोजिने हो भने जग्गाको उर्वराशक्ति ह्रास भएर यहाँका जग्गा ढड्यान (उब्जा नहुने रुखो जग्गा) बन्ने किसान बताउँछन् । सरकारले सर्वसाधारण किसानलाई ग्यास चुलो जडान गर्न उत्प्रेरित गर्न र गरिब जनतासम्म वन सम्पदा (दाउरा) मा पहुँच बढाउन पहलकदमी लिनुपर्ने उनीहरुको भनाइ छ ।

You might also like

Comments are closed.