चितुवाको छालासहित चारजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले दुलर्भ वन्यजन्तु चितुवाको छालासहित चार जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले चितुवाको छालासहित गुल्मीको चन्द्रकोट गाउँपालिका–७ का ३५ वर्षीय विष्णु सुनार, ओखलढुङ्गाको खिजिघोम्बा गाउँपालिका–९ का २९ वर्षीय फुरी शेर्पा, धादिङको गजुरी गाउँपालिका–५ का २४ वर्षीय विनोद श्रेष्ठ र सिन्धुलीको कमलामाई नगरपालिका–४ का ३० वर्षीय विकास पुर्कुटीलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बूढानीलकण्ठ नगरपालिका–८ गल्फुटारस्थित लक्ष्मीप्रसाद गिरीले सञ्चालन गरेको पूर्वपश्चिम गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

footwear zone

पक्राउ परेका उनीहरुले ‘द नर्थ फेस’ लेखेको नीलोकालो झोलाभित्र सेतो बोराले बेरेर चितुवाको छाला बिक्रीवितरण गर्न हिँडेका अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेकासँग लम्बाइ पुच्छरसहित ४।३ फिट र चौडाइ दुई फिट भएको चितुवाको छाला एक थान, लम्बाइ पुच्छरसहित ६.९ फिट र चौडाइ तीन फिट भएको चितुवाको छाला एक थान, छालाविनाको चितुवाको टाउको एक थान, ओपो मोबाइल तीन थान र सामसुङ कम्पनीको मोबाइल एकथान बरामद गरेको छ ।

पक्राउ परेका चारैजनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आइतबार डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको प्रवक्ता मैनालीले बताए ।

You might also like

Comments are closed.