भारतमा कोभिड संक्रमण बढ्न थालेपछि रुपैडिया क्षेत्रमा उच्च सतर्कता

नेपालगञ्ज । भारतमा कोभिड संक्रमण बढ्न थालेपछि बाँकेको रुपैडिया सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ ।

हेल्थ डेस्क स्थापना गरी दिनहुँ १५० देखि २०० जनासम्मको एन्टिजेन परीक्षण गरिएको हेल्थ डेस्कका प्रयोगशाला अधिकृत चिरन ज्ञवालीले जानकारी दिए । गत चैत महिनामा ६ हजार ४ सय जनाको एन्टिजेन परीक्षणमा चार पोजेटिभ देखिएका थिए तर अहिलेसम्म पोजेटिभ नदेखिएको उनले जानकारी दिए । सीमा क्षेत्रमा खास गरेर खोप कार्डलाई अनिवार्य गरिएको छ ।

“दोस्रो डोज लगाएको प्रमाणित खोप कार्ड छैन भने पुनः एन्टिजेन परीक्षण गर्ने गरेका छौँ”, उनले भने । खोपका कारणले पनि विगतमा जस्तो भयावह अवस्था नभएको उल्लेख गर्दै उनले स्वास्थ्य जाँच नगराई सीमा क्षेत्रबाट नेपाल आउन नदिएको जानकारी दिए । सो सीमा क्षेत्रबाट चार हजार ८ सय खोप कार्ड भएका नागरिक नेपाल आवतजावत गरेका छन् ।

footwear zone

स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजङ्ग शाहले स्वास्थ्य जाँचलाई सीमा क्षेत्रमा कडाइका साथ लागू गरिएको उल्लेख गर्दै केही साता यतादेखि स्वास्थ्य जाँचका लागि पाँच जनाको स्वास्थ्य समूह परिचालन भएको बताए । संक्रमण बढेको अवस्थामा जिल्लामा कयौँको मृत्यु भएको थियो । भेरी अस्पताल, नेपालगञ्जका सूचना अधिकारी डा संकेत कुमार रिसालले अहिलेसम्म कोभिड सङ्क्रमणको विरामी नआएकाले शुन्य अवस्था रहेको उल्लेख गर्दै सर्तकता आवश्यक भएको बताए । “अहिलेसम्म कोभिडको कुनै विरामी आएको छैन ।”उनले भने । नेपालमा पनि संक्रमण वढेपछि सरकारले सीमा क्षेत्रमा सर्तकता अपनाउन निर्देशन दिएको थियो ।

 

You might also like

Comments are closed.