काठमाडौं । निर्माण व्यवसायीहरुको आन्दोलन केन्द्रसहित ७७ वटै जिल्लामा जारी छ । नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा निर्माण व्यवसायीहरुले विभिन्न मागसहित वैशाख ८ गतेबाट जिल्ला प्रशासन कार्यालयमा र सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिदै आइरहेका छन् ।
त्यस्तै वैशाख ११ गते आइतबारबाट मूल्य बृद्धि सम्बोधनको मागसहित महासंघले ‘कन्स्ट्रक्सन होलिडे’ सुरु गरेको छ । माग पुरा नभएको भन्दै महासंघले अत्यावश्यक बाहेकका निर्माण क्षेत्रको काम ठप्प बनाएको छ । अत्याधिक मूल्य बृद्धि भएको भन्दै व्यवसायीले अत्यावश्यक बाहेकका निर्माणका काम नगर्ने निर्णय गर्न बाध्य भएको महासंघका अध्यक्ष रवि सिंहले आर्थिक आवाजलाई बताए ।
‘अप्रत्यासित रुपमा भएको मूल्य बृद्धि नियन्त्रणको मागसहित हामी आन्दोलनमा छौं,’ उनले भने, ‘निर्माण सामग्रीमा भएको मूल्य बृद्धिको सम्बोधन तत्काल हुनुपर्छ ।’

२०६५ सालमा मूल्यबृद्धि निर्देशिका जारी भएको र पछिल्लो समयको मूल्यबृद्धिलाई सम्बोधन हुनेगरी नयाँ निर्देशिका जारी हुनुपर्ने महासंघले माग गरेको छ । सार्वजनिक खरिद नियमावलीको ११औं संशोधनको त्रुटी सच्याउनुपर्ने लगायतका माग आफूहरुको रहेको सिंहले बताए ।




Comments are closed.