निगमले जापानको नारितामा साताको ३ उडान गर्ने    

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता गन्तव्यमा साताको तीन उडान सञ्चालन गर्ने भएको छ । निगमले काठमाडौं–नारिता गन्तव्यमा साताको दुई उडान भर्दै आएकोमा मे १ तारिख २०२२ देखि साताको तीन उडान गर्ने भएको हो । उक्त गन्तव्यमा निगमले साताको तीन दिन आइतबार, मङ्गलबार र शुक्रबार उडान सञ्चालन गर्ने योजना बनाएको निगमले आज विज्ञप्तिमार्फत जनाएको छ ।

जापान सरकारको नियमानुसार आइतबार र मङ्गलबारको उडानमा जम्मा १४० यात्रुहरु एवं शुक्रबारको उडानमा जम्मा १२० जना यात्रु मात्र बोक्न पाइने विज्ञप्तिमा जनाइएको छ । विशेषगरी कोभिड महामारीपछि हवाई यात्रुको चाप बढेको एवं मागको तुलनामा सिट सङ्ख्याको उपलब्धता ज्यादै न्यून रहेकाले उडान सङ्ख्या थप्न लागिएको निगमले जनाएको छ ।

जहाजको क्षमताभन्दा करिब आधा कम क्षमतामा काठमाडौँ–नारिता यात्रु बोक्न परेकाले स्वाभाविकरूपमा हाल भाडादर केही महँगो हुन गएको छ । काठमाडौं–नारिता रुटमा करसहित बिजनेश क्लासमा रु एक लाख ५२ हजार र इकोनोमी क्लासमा रु एक लाख १९ हजार भाडादर कायम गरिएको छ । यसरी तोकिएको मूल्यभन्दा बढी भाडा लिई टिकट बिक्री वितरण गरेको गुनासो प्राप्त भएको हुँदा कसैले तोकिएको मूल्यभन्दा बढी मूल्य लिई बिक्री वितरण गरेको पाइएमा नियमानुसार कारबाही हुने पनि निगमले स्पष्ट पारेको छ ।

footwear zone

यदि कसैले बढी भाडा असुलेको पाइएमा यात्रु महानुभावलाई प्रमाणसहित निगममा उजुरी गर्नुहुन अनुरोध गरिएको छ । काठमाडौं–नारिता सेक्टरमा सिट सङ्ख्या बढाउन नेपालस्थित जापानी राजदूतावासलाई अनुरोध गरिसकिएको पनि निगमले जानकारी दिएको छ । निगमले नारिता–काठमाडौँ सेक्टरमा भने जहाज पूर्ण क्षमतामा उडान गरिरहेको जनाएको छ ।

 

You might also like

Comments are closed.