बेनी–जोमसोम सडक : कैकुखोला–खन्ती खण्ड कालोपत्र

लेते (मुस्ताङ) । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकको कैकुखोला–खन्ती खण्ड कालोपत्र भएको छ । मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलाबाट गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्रको काम सकिएको हो । एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कैकुखोला–खन्ती खण्डमा पहिलोपटक कालोपत्र भएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको तेस्रो प्याकेजको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले कैकुखोला–खन्ती खण्डको १६ किलोमिटर ५०० मिटरमध्ये १६ किलोमिटर दूरीमा आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको जानकारी दिए । “तेस्रो प्याकेजको कालोपत्र गर्न अब ५०० मिटर मात्र छ”, उनले भने, “शर्मा–गजुरमुखीले नै ठेक्का लिएको दोस्रो प्याकेजको भुरुङ्गतातोपानी–घाँसा खण्डअन्तर्गत पर्ने काभ्रे, घोप्टेभिर खण्डमा विस्फोटक पदार्थको सहायताले सडक विस्तार अन्तिम चरणमा पुगेको छ ।”

एघार मिटर फराकिलो बनाइएको सडकमा नाली, ग्यावियन पर्खाल निर्माण र ग्राभेलपछि सातदेखि आठ मिटरको चौडाइका दरले कालोपत्र गरिएको हो । उकालो सडकमा ढलान गरिएको छ । भिरको जोखिमयुक्त सडकको डिलतर्फ साइडबार राख्ने काम भइरहेको छ । सडक कालोपत्र भएपछि यात्राअवधि छोटिएको र आवतजावत सहज भएको छ ।

footwear zone

करिब डेढ घण्टा लाग्ने गरेकामा हाल ३० मिनेटमा पार गर्न सकिन्छ । सडक कालोपत्र भएपछि एक घण्टा यात्राअवधि छोटिएको छ । मुस्ताङका स्थानीय बासिन्दाका साथै पर्यटक र तिर्थयात्रीलाई सहज भएको छ । बेनी–जोमसोम सडकको पहिलो प्याकेजअन्तर्गत म्याग्दीको राहुघाटबाट बेगखोलासम्मको छ किलोमिटर सडकमा डिबिएसडी प्रविधिको कालोपत्र अन्तिम चरणमा पुगेको छ । गलेश्वरमा एक किलोमिटर र बेगखोलाबाट भुरुङ्ग–तातोपानी खण्डको सडकको अधिकांश ठाउँमा विस्तार सकेर कालोपत्रको तयारी गरिएको छ ।

विसं २०७४ मा सुरु भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०० किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ वटा खण्डमा निर्माण भइरहेको छ । हालसम्म मुस्ताङको छवटा खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति ७० प्रतिशतभन्दा बढी छ ।

एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको सातमध्ये छवटा खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेका योजना प्रमुख जगत् प्रजापतिले बताए । आठवटा मोटर चल्ने पुल निर्माण सकिएका छन् । थप एकवटा निर्माणको अन्तिम चरण र १२ वटा निर्माणाधीन रहेका छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको आयोजना प्रमुख प्रजापतिले बताए ।

सो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने मुस्ताङबाट सांसद प्रेमप्रसाद तुलाचनले बताए । रासस

 

You might also like

Comments are closed.