हराइरहेको विमानको खोज उद्धार जारी छ : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज बिहानदेखि हराइरहेको तारा एयरको ट्विनअटर विमानको खोज तथा उद्धार कार्य युद्धस्तरमा भइरहेको जानकारी गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाको रुलिङपछि उहाँले तारा एयरको पोखराबाट जोमसोमका लागि आज बिहान ९ः५५ बजे उडेको ट्विनअटर विमान १०ः११ मिनेटपछि सम्पर्कबाहिर गएको जानकारी गराए ।

यात्रु र चालक दल गरी २२ जना रहेको विमान हराइरहेको सम्भावित क्षेत्रमा खोजबिन कार्यलाई तीव्रता दिए पनि मौसम प्रतिकूलका कारण कठिनाइ देखिएको बताउँदै मन्त्री आलेले उद्धारका लागि पोखरा र जोमसोममा तीन हेलिकोप्टर तयारी अवस्थामा राखिएको बताए ।

footwear zone

हराइरहेको सम्भावित स्थानमा नेपाली सेनाको सहयोगमा समेत खोनबिन कार्य केन्द्रित रहेको जानकारी गराउँदै उनले मौसम खराबीका कारण अहिले हेलिकोप्टर त्यसतर्फ जान नसकेको र भोलि बिहानदेखि खोजतलास पुनः अघि बढ्ने बताए ।

बैठकको प्रारम्भमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद प्रेमप्रसाद तुलाचनले आसनबाट उठेर बोल्न समय माग गर्दै हराइरहेको तारा एयरको ट्विनअटर विमानको खोज तथा उद्धार कार्यका बारेमा सरकारको जवाफ माग गरेका थिए । उनले तुरुन्तै खोज उद्धार गर्न र घटनाको सत्यतथ्य पत्ता लगाउनका लागि जाँचबुझ आयोग गठन गर्नसमेत माग गरेका थिए । रासस

You might also like

Comments are closed.