तारा एयर दुर्घटना : १० जनाको शव काठमाडौं ल्याइयो, ११ वटा घटनास्थलमै, एककाे खाेजी हुँदै

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये १० जनाको शव अहिले काठमाडौं ल्याइएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार २२ जना सवार दुर्घटनामा परेको उक्त विमानमा २१ जनाको शव भेटिएको र त्यसमध्ये पहिलो चरणमा १० जनाको शव आज साँझ काठमाडौंमा ल्याइएको हो । प्रतिकूल मौसमका कारण अर्का एकजनाको शव खोजी भइरहेको र भेटाउन नसकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार १० जनाको शव बोकेर नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टर अहिले काठमाडौं आइपुगेको र ती शवहरु अस्पतालतर्फ पठाइएको छ । शवको उद्धार तथा आवश्यक व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, सचिव महेश्वर न्यौपानेसहितको टोली बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रमा खटिइरहेको थियो ।

footwear zone

मन्त्री आलेले हवाई दुर्घटनामा परी मानवीय क्षति भएकामा दुःख व्यक्त गरेका छन् । उनले दुर्घटनाबाट भएको ठूलो मानवीय क्षतिले आफू मर्माहत भएको बताए । उनले दुर्घटनामा परी ज्यान गुमाएका चालक दलका सदस्य एवं यात्रुमा श्रद्धाञ्जलि अर्पण र शोकाकुल परिवारजनमा समवेदनासमेत व्यक्त गरे ।

हवाई दुर्घटनाबाट राष्ट्रलाई अपूरणीय क्षति पु¥याएको उल्लेख गर्दै उनले दुर्घटनालाई न्यूनीकरण गरेर हवाई यात्रालाई सुरक्षित बनाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराए । मन्त्री आलेको निर्देशनमा मन्त्रालयले विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोगसमेत गठन गरेको छ ।

भेटिएका शव सनाखत गर्न बाँकी छ। समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको घटनास्थलमा कुहिरो लागेको बताइएको छ । भेटिएका २१ शवमध्ये ११ वटा शव घटनास्थलमै रहेको र मौसममा सुधार आएपछि सम्भवतः भोलि पोखरा ल्याइने तर त्यहाँबाट काठमाडौं ल्याइने उद्धार टोलीले जनाएको छ । मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा आज बिहान भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीले जानकारी दिए।

You might also like

Comments are closed.