लेखनाथ–५ स्थित बुढीबजारमा २०५६ देखि सञ्चालित बजगाईं डेरी पुरानो डेरी मध्येमा पर्छ । सुरुमा आइसक्रिम उत्पादन गर्दै आइरहेको डेरीले सेवा बिस्तारको क्रममा २०६० देखि दूध तथा दही बजारमा पुर्याउँदै आइरहेको छ ।
स्थानीय ताजा दूधलाई प्रशोधन गरेर बजारमा पठाउने गरिएको डेरीका सञ्चालक ज्ञानेन्द्र बजगाईं बताउँछन् । डेरीले लेखनाथ क्षेत्रका सयौं किसानबाट दूध संकलन गर्ने गरेको छ । त्यस्तै दुग्ध उत्पादक सहकारी संंस्थाबाट पनि डेरीले दूध संकलन गर्दै आइरहेको छ ।
‘दूध संकलन र बिक्रीमा लेखनाथलाई प्राथमिकतामा राखेका छौं,’ बजगाईंले भने, ‘पोखरा र तनहुँको खैरेनीटार बजारसम्म हाम्रो उत्पादन पुगिरहेको छ । स्थानीय दूधबाट उत्पादित दूध, दही, पनिर, घ्यु बजारमा पुगिरहेको छ । ताजा दूध पास्चराइज गरेर बजारमा पुर्याउँछौं ।’

डेरीले सञ्जीबनी ब्राण्डबाट दूध, दही घ्यु, पनिर, आइसक्रिम उत्पादन गर्दै आइरहेको छ । सुरुमा सामान्य र सानो लगानीबाट सञ्चालित उद्योगले अहिले उपभोक्ताको माग अनुसारको उत्पादन बजारमा पुर्याइरहेको छ ।
‘लेखनाथ, पोखरा तथा आसपासका क्षेत्रमा हाम्रो उत्पादन धेरैको रोजाईमा पर्ने गरेको छ,’ उनले भने, ‘हामीले गुणस्तरीय उत्पादनलाई सधैं प्राथमिकतामा राख्दै आइरहेका छौं ।’ नेपाल सरकारको दुग्ध विकास संस्थानमा २५ वर्ष काम गरेको अनुभवसमेत संगालेका बजगाईं नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष समेत हुन् ।





Comments are closed.