पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले गीत संगीतमा क्रियाशील स्रष्टालाई दुईरदुई वर्षमा प्रदान गर्ने सोम बज्राचार्य स्मृति संगीत पुरस्कार २०७८ बाट यस वर्ष संगीतकार वरिष्ठ तवला बादक श्यामलाल श्रेष्ठलाई पुरस्कृत गर्ने भएको छ ।
पोखरामा जन्मिएर पोखरालाई नै कर्मक्षेत्र बनाइ गीत संगीतका क्षेत्रमा विगत चार दशकदेखि क्रियाशील श्रेष्ठले २०५१ मा रेडियो नेपालबाट स्वर परिक्षा उत्तिर्ण गरेका थिए । पोखराका एक पुराना तबला बादक गुरुका रुपमा पनि श्रेष्ठलाइ चिनिन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सांगीतिक कार्यक्रममा होस् वा ५० को दशकमा पहिलोपटक पोखरामा खुलेका रात्रीकालीन गीतगजल आदी प्रस्तुत गर्ने संघसंस्थामा उनको महत्वपूर्ण भूमिका रहन्थ्यो ।
निरन्तर लगाव र महत्वपूर्ण योगदान दिएका उनले थुप्रै अवार्ड र पुरस्कार पाइसकेका छन् । नेपाली गीत संगीतको क्षेत्रमा उनले दिएको योगदानको कदर स्वरुप सोम बज्राचार्य स्मृति संगीत पुरस्कार प्रदान गर्न लागिएको प्रतिभा छनौट समितिका संयोजक एवम् पोयुसांपका सल्लाहकार अनन्द श्रेष्ठले जानकारी दिए ।

गायक तथा संगीतकार सोम बज्राचार्यको स्मृतिमा उनकी धर्मपत्नी शान्ति बज्राचार्यले अक्षयकोष खडा गरी पोयुसांपद्वारा सञ्चालित यो पुरस्कारबाट यस अघि बिमा कुमारी दुरा, श्यामसुङ तामाङ, नवराज बराल, रुपेनबाबु थापा, सुनिल थापा र कर्ण दास पुरस्कृत भइसकेका छन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा आगामी असार ४ गते शनिबार नगद, ताम्रपत्र र दोसल्ला सहित पोखरामा पुरस्कार प्रदान गरिने परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिएका छन् ।




Comments are closed.