काठमाडौं । सांसदहरूले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)मा निर्यात प्रवर्द्धन र कृषिका कार्यक्रम सकारात्मक भएको बताएका छन् ।
प्रतिनिधिभसभाको आजको बैठकमा बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिने सांसदहरूले मुलुकको अहिलेको आावश्यकताअनुसार सरकारले कृषि र निर्यातलाई प्राथमिकतामा राखेको भन्दै प्रशंसा गरे। साथै उनिहरुले कार्यान्वयनमा चुनौती रहेकामा सरकारको ध्यानाकर्षणसमेत गराए।
बैठकमा सांसद पूर्णकुमारी सुवेदीले बजेट समग्रमा राम्रो भएको बताउँदे बजेटले शिक्षा, स्वास्थ्य, कृषि, बेरोजगार युवाका लागि कार्यक्रम ल्याएको उल्लेख गरिन् । कृषिमा रुपान्तरण राम्रो पक्ष भएको उल्लेख गर्दै उनले वनको संरक्षण गरी सदुपयोग गर्ने खालका थप कार्यक्रम ल्याउन सुझाव दिइन् ।

त्यस्तै, सांसद सरलाकुमारी यादवले निर्यात बढाउन आवश्यक पूर्वधार बढाउनुपर्ने बताउँदै मुलुक आर्थिक संकटमा भएपनि आत्तिने अवस्था नरहेको बताइन् । निजी क्षेत्र र निर्यात क्षेत्रलाई प्राथमिकतामा राखेको बजेट सकारात्मक भएको उनको भनाइ थियो ।
सांसद खगराज अधिकारीले सरकारले उत्पादन सिर्जना गर्नुपर्ने बताउँदै सेयरबजार दैनिक घटेको र अर्थतन्त्रलाई माथि उठाउने खास योजना नदेखिएको टिप्पणी गरे । आफू स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य बीमा कार्यक्रम ल्याएको र सो कार्यक्रम अहिले निजी क्षेत्रलाई दिने कुरा गलत भएको बताए । साथै उनले बजेटमा हिजोका विकासलाई प्रतिस्थापन गरी नयाँ कार्यक्रम ल्याएको बताए ।
सांसद एकवाल मियाँले गठबन्धनले गर्दा स्थानीय तहको निर्वाचनमा महिला पछाडि परेको उल्लेख गरे । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने ठाउँमा रुख नभएको भन्दै किन रोक्नुप¥यो भनी प्रश्नसमेत गरे।
सांसद सीतादेवी यादवले बजेट राम्रो भएको तर कार्यान्वयन प्रभावकारी हुन जरुरी रहेको उल्लेख गर्दै सरकारले ९८ प्रकारको औषधि निःशुल्क प्रदान गर्ने भनिए पनि स्वास्थ्यचौकीमा औषधि नपाइने गरेको बताइन्। सांसद लक्ष्मणलाल कर्णले बजेटमा धेरै कार्यक्रम भएकाले कार्यान्वयनमा गाह्रो हुने धारणा व्यक्त गरे ।
उनले भावनामा कुरा गरेर कल्पनामा देश नचल्ने बताउँदै यथार्थमा रहेर कार्यक्रम ल्याउनुपर्ने बताए । उनले कृषिमा आत्मनिर्भर बनाउन चक्लाबन्दी कानुन लागू गर्नुपर्ने, कृषि उपकरणमा पर्याप्त सहुलियत दिनुपर्ने, सहकारी नीति लागू गर्नुपर्ने, सिँचाइको पर्याप्त सुविधा हुनुपर्ने सुझाव दिए ।
सांसद महोम्मद इस्तियाक राईले बजेटमा रहेका कार्यक्रम कार्यन्वयनमा चुनौति रहेको बताए । उनले बजेटमा बाँकेका धेरै कार्यक्रम छुटेको बताउँदै पश्चिम नेपालको महत्वपूर्ण नेपालगञ्जको विमानस्थलको स्तरोन्नति गर्ने कार्यक्रमसमेत नभएको गुनासो गरे । विद्युतीय सवारीसाधन र ड्राइफुडमा लगाइएको कर केही सीमित व्यक्तिलाई पोस्न ल्याइएको हो कि भनी उनले शंका गरेका छन् ।
त्यस्तै, सांसद डा शिवमाया तुम्बाहाम्फे बजेट चुनावलक्षित भएको र हुबहु कार्यान्वयन हुन नसक्ने दाबी गर्दै समाजवादोन्मुख देखिएकोसमेत टिप्पणी गरिन् । सबै सुकुम्बासी, भूमिहीन दलित र घरबारविहीनलाई उचित र समानरूपमा जग्गा र बासस्थानको व्यवस्था मिलााउनुपर्ने माग गरिन् ।
सांसद दिव्यमणि राजभण्डारीले कृषि क्षेत्रमा क्रान्तिकारी कार्यक्रम रहेको उल्लेख गर्दै किसानलाई राहत दिने कार्यक्रम राम्रो रहेको बताए । उनले मलखादको समयमै व्यस्थापन गर्न सुझावसमेत दिए । बजेटमा पर्यटनमा १० लाख भित्र्याउने लक्ष्य राम्रो भएको बताउँदै उनले यसबाट आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने धारणा व्यक्त गरे । बजेट कार्यान्वयका लागि बाँकी आवश्यक प्रावधान मौद्रिक नीतिमा समेट्नुपर्ने उनको भनाइ थियो ।




Comments are closed.