खगोल विज्ञानको विकासका लागि ब्रुनेईसँग सम्झौता

काठमाडौं । नेपालमा अभ्यास गरिएका खगोल विज्ञानसम्बन्धी गतिविधि प्रचारप्रसार गर्न र काम गर्दा संकलित ज्ञान हस्तान्तरण गर्दै खगोल विज्ञानको विकासका लागि सहकार्यमार्फत अघि बढ्न दक्षिणपूर्वी एशियाली राष्ट्र ब्रुनेईसँग सम्झौता भएको छ ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) तथा ब्रुनेई दारुस्सलाम एस्ट्रोनोमिकल सोसाइटी (पाब्ड) बीच १५ वर्षका लागि सहमति भएको हो । दुवै संस्थाका अधिकारीको उपस्थितिमा नेपाल एष्ट्रोनोमिकल सोसाइटीका तर्फबाट संस्थाका अध्यक्ष सुरेश भट्टराई र ब्रुनेई दारुस्सलाम एस्ट्रोनोमिकल सोसाइटीका तर्फबाट त्यस संस्थाका अध्यक्ष अवाङ् हाजी महादी बिन हाजी ताहिरले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार दुवै संस्थाले तथ्याङ्क केन्द्रित नागरिक विज्ञान परियोजना सञ्चालन गर्ने, खगोल विज्ञानसम्बन्धी दुईदेशीय सञ्चार सञ्जालको समन्वय गर्ने, यस्ता गतिविधिलाई कार्यान्वयन गर्न आवश्यक कोष संकलन गर्ने, दुवै देशमा खगोल विज्ञानको विकासलाई टेवा पु¥याउन आपसी हितका अन्य क्षेत्रमा सहकार्य गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको सोसाइटीका अध्यक्ष भट्टराईले राससलाई जानकारी दिए ।

footwear zone

सहमतिले दुवै देशमा बलियो वैज्ञानिक समुदाय निर्माण गर्न, खोज अनुसन्धानको वातावरण बनाउन, विभिन्न तालिम तथा अन्तरक्रिया कार्यक्रममार्फत दुईदेशीय क्षमता विकास गर्न तथा संयुक्त खगोल विज्ञान परियोजना सञ्चालन गर्न भूमिका खेल्ने आशा लिइएको छ ।

नेपालमै बसेर नेपाली तथा विश्व समुदायका लागि काम गर्ने अभियानअन्तर्गत सम्झौता गरिएको हो । सोसाइटीको अभियानमा राज्यको साथ, समर्थन तथा सहयोग भए विश्व मानचित्रमा खगोल विज्ञानको क्षेत्रमा नेपालको विशेष छवि बनाउने उनको प्रतिबद्धता छ ।

You might also like

Comments are closed.