कपिलवस्तुको आर्थिक विकास र समृद्धिका लागि कृषि योजना

कपिलवस्तु । लुम्बिनी प्रदेश सरकारले कृषिलाई उत्पादनसँग जोडेर कपिलवस्तुको आर्थिक विकास र समृद्धिका लागि विभिन्न योजना अगाडि सारेको छ ।

“कृषि क्षेत्रलाई व्यावसायीकरण, आधुनिकीकरण र यान्त्रीकरणमा जोड दिने प्रदेश सरकारको नीति अनुरुप कपिलवस्तुमा कृषि क्षेत्रको विकासका लागि विभिन्न योजना अगाडि सारिएको छ”, प्रदेश सरकारद्वारा कपिलवस्तुमा सञ्चालित कृषि तथा पशु सम्बन्धि विभिन्न योजनाको स्थलगत अवलोकनका क्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले भनिन्, “हालको निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक तथा उत्पादनमूलक कृषिमा रुपान्तरण गर्न कपिलवस्तुमा प्रदेश सरकारले विभिन्न महत्वाकांक्षी कृषि कार्यक्रमहरु तर्जुमा गरी लागू गरेको छ ।”

विजयनगर गाउँपालिकालाई दुग्ध आत्मनिर्भर बनाउन यहाँ भैसी स्रोत केन्द्र सञ्चालनमा ल्याउने बताउँदै यसका लागि गाउँपालिकाले सय बिघा क्षेत्रफल समेत छुट्याइएको उनले जानकारी दिइन् ।

footwear zone

मन्त्री पौडेलले आँप, लिचीलगायत फलफूलको हवको रुपमा कपिलवस्तुलाई विकास गरिने बताउँदै भूमिहीन, हलिया कमैया किसानलाई लक्षित गरी प्रदेश सरकारले १०९ वटा पालिकामा करार खेती सञ्चालन गर्ने जानकारी दिइन् ।

यसैगरी कपिलवस्तुमा किसानका लागि कृषि कोरिडोर, आलु, प्याज, लहसुन, बाख्रापालन अभियानलगायतका कार्यक्रम सञ्चालन गरिने बताइएको छ । किसानलाई कृषिमा प्रोत्साहन दिन सहुलियत दरमा कर्जा, अनुदान दिइने, कृषिको सहजीकरणका लागि प्रदेशका ९ सय ८३ वटै पालिकामा हरित स्वयंसेवक नियुक्त गर्ने, व्यवस्थित रुपमा कृषि तालीम उपलब्ध गराउनेजस्ता कार्यक्रम प्रदेश सरकारले सञ्चालन गरिएको मन्त्री पौडेलले बताइन् ।

बाणगङ्गाको भलवाडमा स्मार्ट कृषि कार्यक्रम र तौलिहवामा माहुरीपालक किसानका लागि माहुरीचरण कार्यक्रमबारे सरोकारबालासँग छलफल गर्नुभएका मन्त्री पौडेलले कृषि ज्ञान केन्द्र तौलिहवामा कृषि प्राविधिकसँग छलफल र सञ्चारकर्मीसँग अन्तरक्रियासमेत गरिन् । महाराजगञ्ज र बाणगङ्गामा सञ्चालित पशु र कृषि कार्यक्रमको बिहीबार स्थलगत अवलोकन समेत उनले गरिन् ।

सो अवसरमा प्रदेश सभा सदस्य अर्जुन केसीले कृषि क्षेत्रको दिगो विकासका लागि प्रदेश सरकारले धेरै कार्यक्रम ल्याएको बताउँदै यसबाट वास्तविक किसानले फाइदा लिनुपर्ने आवश्यकता औल्याए ।

भेटनरी अस्पतालका प्रमुख दिपक भुसालले कपिलवस्तुमा यो वर्ष कृषि र पशुतर्फ विभिन्न कार्यक्रम रहेकाले यसको प्रभावकारी कार्यान्वयनमा सम्बन्धित सबै पक्षको सहयोग र समन्वय आवश्यक रहेको बताए ।

You might also like

Comments are closed.