पशुपक्षी पालनमा युवाको बढ्दो आर्कषण

डोटी । डोटीमा पछिल्लो समय व्यावसायिक रुपमा पशुपक्षी पालनमा युवाको आर्कषण बढिरहेको छ । आफ्नो आन्दानीको कुनै स्रोत नहुँदा बाहिरीमुलुक धाउँदै आएका युवाले पछिल्लो समय कृषि, पशुपालन र ब्यापार-व्यवसायलाई मुख्य आम्दानीको स्रोतको रुपमा प्राथमिकता दिइरहेका हुन् ।

करिब तीन वर्ष दुबईमा काम गरी नेपाल फर्केपछि कृषि व्यवसायका रुपमा बाख्रापालन गदै आइरहेका डोटी पूर्वचौकी गाउँपालिका–७ का देव बोगटीले विदेशकोभन्दा आफ्नै गाउँघरमा राम्रो कमाइ भएको बताए । विसं २०७२ सालमा विदेशबाट फर्किएका उनले २०७३ सालदेखि दुई-चारवटा बाख्राबाट सुरुआत गर्नुभएकोे व्यवसायमा हाल ६०, ७० वटा बाख्रा पुगेको बताए ।

“घरपरिवार त्यागेर अरुको देशमा गएर मजदूरी गर्नुभन्दा आफ्नो गाउँघरमा केही व्यवसाय गर्दा आम्दानी बढ्नाका साथै आत्मसन्तुष्ठी पनि हुँदोेरहेछ,” बोगटीले भने, “अहिले यस व्यवसायबाट वार्षिकरुपमा रु आठ लाखसम्म आम्दानी हुने गरेको छ ।”

footwear zone

उनी मात्र होइन सहकारीको रोजगार छोडेर कृषि तथा पशुपक्षी फार्म सञ्चालन गरी लोकल कुखुरापालन गरिरहेकी पूर्वचौकी गाउँपालिका- ४ साना गाउँकी सरस्वती कुँवरले पनि आफ्नै व्यवसाय सुरुआत गरेपछि आन्दानीका स्रोत बढ्नाका साथै आर्थिकरुपमा सबल हुँदै आएको बताएकी छन् । उनले भनिन्,“थोरै आम्दानीबाट सुरुआत गरिएको कुखुरापालन हाल व्यावसायिक रुपमै अघि बढेको छ ।”

करिब रु १५ लाख बराबरको लगानीमा फार्म सञ्चालन गरेकी सरस्वतीले लोकल कुखुराको माग धान्न सकिरहेकी छैनन् । व्यावसायिकरुपमा कुखुरापालन गर्दा दुबै दम्पती स्वरोजगार हुनाका साथै छोराछोरीलाई पढाउन लेखाउन सहयोग पुग्ने गरेकोे बताइन् । उनले सञ्चालन गरेको फार्ममा भेटनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रलेसमेत सहयोग गरेको थियो ।

व्यावसायिकरुपमा पशुपालन गर्दा आर्थिक स्थितिमा सहयोग पुग्नाका साथै छोराछोरी पढाउन सहयोग पुगेको बडिकेदार गाउँपालिका-४ बुराउसेका तारासिँह मन्नले बताए । उनले भने, “मैले आफ्नो जीवनकालमा धेरै वर्ष भारतमा मजदुरी गरेँ तर केही प्रगति गर्न सकिन बल्ल अहिले आयआर्जको बाटो खुलेजस्तो अनुभव भइरहेको छ ।’’

तारासिँहले अहिले व्यावसायिकरुपमा बाख्रा पालन गर्दै आइरहेका छन् । हाल ७०, ८० वटा बाख्रा पालेका उनले आफूलाई खोर सुधारमा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले सहयोग गरेको बताए । जिल्लाको समग्र पशुपक्षी विस्तार र घाँस सुधारमा वृिद्ध गरी आत्मनिर्भर बनाउने कार्यक्रमलाई निरन्तरता दिने गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख खड्गबहादुर साहले बताए ।

“डोटीमा पछिल्लो समयमा युवावर्गमा व्यावसायिकरुपमै पशुपक्षी पालनमा आर्कषण वृद्धि भइरहेको छ “ उनले भने, आर्थिक वर्ष २०७८/७९ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत शिखर नगरपालिका -६, ८, १० व्यावसायिक उत्पादन केन्द्र भैँसी क्लब कार्यक्रमबाट ७० भैँसीपालक किसानलाई गोठ सुधारमा, जिल्लाका सबै स्थानीय तहमा नमूना खोर सुधारमा, घाँसको स्रोत केन्द्र विस्तार तथा नसरी स्थापना गर्न, ट्राउट माछापालन गर्न, डेरी स्थापना गर्न, पशु स्वास्थ्य शिविर सञ्चालन गर्न र पीपीआर महामारी रोगविरुद्ध खोप अभियान सञ्चालनलगायत कार्यक्रम गर्न सहयोग गरिएको छ ‘ सोही प्रकृतिका कार्यक्रमलाई यस आर्थिक वर्षमा पनि निरन्तरता दिइने प्रमुख शाहको भनाइ थियो ।

जिल्लामा पछिल्लो समयमा व्यावसायिकरुपमा कृषि, पशुपालन गर्न, ब्यापार, व्यवसाय आम्दानीका स्रोत वृद्धि  गर्ने कार्यमा बढी युवा नै रहेका छन् । जिल्लाको समग्र अवस्था हेर्दा पशुपक्षीपालन, तरकारी खेती, व्यापार ब्यवसाय लगायत सबै क्षेत्रमा युवाहरुको सहभागिता बढी रहेको पाईन्छ ।

You might also like

Comments are closed.