सल्लागाउँको आयस्रोत तरकारी र पशुपालन

करन ताम्राकार/अमरगढी । डडेल्धुराको अमरगढी नगरपालिका–७ सल्ला गाउँमा हिजोआज व्यवसायिक रुपमा पशुपालन र तरकारी खेती गर्ने किसान धेरै भेटिन्छन् ।

यहाँका बासिन्दाले व्यावसायिक तरकारी खेती र पशुपालन व्यवसायलाई गाउँको मुख्य आयस्रोत बनाएका छन् । पहिले निर्वाहमुखी कृषि पेशा अपनाउँदै आएका सल्ला गाउँवासीले तरकारी खेती र पशुपालनलाई आफ्नो मुख्य आयस्रोत बनाएका हुन् ।

सात–आठ वर्ष पहिलेसम्म हिउँदेबाली खेती गर्ने त्यहाँका बासिन्दाको खेतबारीमा अहिले मौसमी र बेमौसमी तरकारी खेती उत्पादन हुन थालेको छ । सल्लागाउँमा बसोबास गर्ने करीब ५० घरपरिवारले व्यावसायिक तरकारीखेती र पशुपालनलाई मुख्य आयस्रोत बनाएका अगुवा कृषक खड्कबहादूर बोहराले जानकारी दिए ।

footwear zone

उनीहरूले हिउँदेबाली लगाउने खेतबारीमा बन्दा, काउली, धनियाँ, साग, आलु, गोलभेँडा, प्याज, लसुनलगायतका तरकारी उत्पादन गरेर राम्रो आम्दानी पनि गरिरहेका छन् । “अन्नबाली खेती गर्दा घरमा उपभोग गर्नका लागि तरकारी किन्न बजार जाने गथ्र्यौँ, तरकारी खेती गर्न थालेपछि नगद बचत त भएको छ नै, आयआर्जन पनि भएको छ”, कृषक पदम बोहराले भने ।

करीब तीन रोपनी खेतमा तरकारी खेती गरेकी गोमती बोहराले मासिक रु चार देखि पाँच हजारसम्म आम्दानी हुने गरेको बताइन् तरकारी खेतीबाट भएको आम्दानीले घरखर्च चलाउन सजिलो हुनुका साथै बालबच्चाको पढाइमा पनि लगानी गर्ने गरेको स्थानीयवासी बताउँछन् । पुरुषको तुलनामा धेरै महिलाले तरकारी खेती गरेका छन् ।

बोहराले सिमी, काँक्रा, भेन्टा, खुर्सानी, बन्दा, बोडीलगायत विभिन्न मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका छन् । उनले मौसमीभन्दा बेमौसमी तरकारी बढी फलाउने गरेका छन् । “बेमौसमा उत्पादन गर्दा धेरै मूल्य पाइन्छ”, उनले भने, “सकेसम्म बेमौसमी तरकारी उत्पादन गर्छु ।” यहाँ उत्पादन गरेको तरकारी धनगढी र पोखराको बजारमा बिक्री हुने गरेको छ । बोहराले उत्पादन गरेको तरकारी लैजान व्यापारी खेतबारीमै आउने गरेका छन् ।

“हामी जस्ता किसानलाई खाली जग्गा उपलब्ध गराए हुन्थ्यो”, उनले भने, “सरकारले किसानका समस्यालाई प्राथमिकतामा नराख्नाले अपेक्षित उपलब्धि हुनसकेन ।” नेपालमा उत्पादन गरेको तरकारी विदेश निर्यात गर्न सरकारी पहल हुनुपर्ने बोहराको भनाइ छ । “यहाँ बिक्री नभए विदेश निर्यात गर्न सक्नुपर्छ”, उनले भने, “बिक्री हुनेमा ढुक्क भए उत्पादन बढाउन सकिन्छ ।”

बोहराले गरेको मेहनत निकै प्रशंसनीय रहेको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले बताए । “व्यावसायिक तरकारी खेती र पशुपालन गर्ने यहाँ धेरै किसान छन्”, उनले भने, “यहाँका कृषकले व्यवसायिक कृषिको सम्भावनालई राम्रोसँग उजागर गरेका छन् ।”

त्यसैगरी सो गाउँका बासिन्दाले पशुपालन गरेर दैनिक २०० लिटरसम्म दूध बिक्री गरेको जानकारी दिएका छन् । सल्लागाउँको उत्पादित दूध डडेल्धुरा सदरमुकाम अमरगढी, पोखरा, बागबजार र तुफानडाँडामा खपत हुन्छ । त्यसै यहाँबाट उत्पादित तरकारी सुदूरपश्चिमका सबै जिल्लामा पठाइने गरेको कृषक अगुवा बोहराले बताए ।

जिल्लाकै नमूना गाउँको रुपमा रहेको सल्लागाउँको तरकारी मौसमी र बेमौसमी गरी सिङ्गो गाउँनै कृषि तथा पशुपालन क्षेत्रमा नमूना बन्दै गएको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले बताए । व्यवसायिक कृषि उत्पादनका लागि अहिले उक्त गाउँलाई सहयोग पुग्ने गरी नै कृषि ब्लकको प्याकेजमा सहभागी गराउने लक्ष्य लिएको उनको भनाइ छ ।

जिल्ला सदरमुकाम अमरगढी बजारसम्म सहज पहुँच रहेकाका कारण यहाँका किसानलाई बजारीकरणको कुनै समस्या रहेको छैन ।

You might also like

Comments are closed.