काठमाडौं । बतास अर्गनाइजेसनको व्यावसायिक नेतृत्व गरिरहेका व्यवसायी हुन् आनन्दराज बतास । पुख्र्यौली घर तनहुँ भएपनि उनको व्यावसायिक यात्रा पोखराबाट सुरु भयो । चालिसको दशकमा अध्ययन गर्दा-गर्दै व्यावसायिक यात्रा अगाडि बढाएका बतासले तीन दशकमा धेरै ठूलो प्रगति गरिसकेका छन् । सुरुमा सामान्य कम्युनिकेशनबाट व्यवसाय सुरु गरेका उनको बतास समूह अहिले नेपालकै प्रतिष्ठित व्यावसायिक घरानामा स्थापित भइसकेको छ । अटोमोबाइल व्यवसायबाट मनग्य कमाएको यो समूहको नेतृत्वमा १६ वटा कम्पनी छन् ।
पोखरामा केन्द्रित रहेर मात्रै व्यवसाय गर्दा बतास सन्तुष्ट भएनन् । पैसा कमाउने हुटहुटी पनि बढ्यो । अन्तत उनी १५ वर्ष अगाडि थप अवसरको खोजीमा राजधानी काठमाडौं हानिए । काठमाडौंमा कर्पोरेट कार्यालय र पोखरामा प्रधान कार्यालय राखेर उनले व्यावसायिक नेटवर्क बढाउँदै लगे । व्यवसायमा छोटो समयमा राम्रो प्रगति गरेका व्यक्तिमध्येमा बतास पर्छन् । ‘आजसम्म म मेरो आफ्नै कर्मका कारण यहाँसम्म आइपुगेको छु,’ बतास भन्छन् ।
बतास आफूमात्रै उद्यमी बनेका छैनन् । १६ मध्ये ११ वटा कम्पनीमा व्यावसायिक साझेदार पनि राखेका छन् । उनको व्यावसायिक यात्रामा भाइहरु शान्तराज बतास र विपीन बताससहित परिवारको पूर्ण साथ छ । अटोमोबाइलसहित हस्पिटालिटी, रियलस्टेटलगायतको व्यवसायमा उनको आबद्धता छ ।

बतास काम गर्न मन पराउने तर खासै चर्चामा आउन नरुचाउने मान्छे हुन् । चर्चामा आउन नरुचाउने बतास यतिबेला भने निकै चर्चामा छन् । काठमाडौंको नारायणहिटी दरबार संग्रहालय परिसरभित्र रेष्टुरेन्ट चलाउन संरचना बनाइरहेको खबरसँगै उनी चर्चामा छन् । ‘सेटिङ’ तथा ‘पावर’का आडमा संग्रहालय भित्रको जग्गा कब्जा गरेको आरोप उनलाई लगाइएको छ । पशुपति क्षेत्रमा धर्मशाला कब्जा गरेको र पहुँचकै आधारमा पोखराको रामघाट कब्जा गर्न लागेको आरोप बतासलाई लागेको छ । यो आरोपलाई बतासले भने अस्वीकार गरेका छन् ।
सरकारले सार्वजनिक रुपमा टेण्डर निकालेको सूचनाका आधारमा आफूले अन्य कम्पनीले जस्तै प्रतिस्पर्धा गरेको बतास बताउँछन् । ‘प्रतिस्पर्धाबाट टेण्डर परेपछि नियमानुसार नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालनार्थ अगाडि बढेको हुँ,’ उनले भने । संग्रहालयभित्र रेष्टुरेन्ट चलाउन नपाउने र सञ्चालन गर्नु नै गलत हो भने किन सरकारले टेण्डर निकालेको ? उनले प्रश्न गरे । सरकारको नीति, नियम अनुसार आफूले टेण्डर पारेर रेष्टुरेन्ट चलाउन संरचना बनाएको उनको भनाइ छ । ‘म काममा रमाउने व्यक्ति हुँ । कर्ममा विश्वास गर्छु,’ उनले भने, ‘संग्रहालय भित्र रेष्टुरेन्ट चलाउने अवसर आउँदा लगानी गरेको हुँ ।’
सेटिङ मिलाएर सरकारी सम्पत्ति कब्जा गर्यो भन्ने आरोप पूर्ण रुपमा गलत रहेको बतास बताउँछन् । ‘सयौं ठाउँका जग्गा भाडामा दिनका लागि सरकारले टेण्डर आह्वान गरेको छ । अन्यत्र अरुले टेण्डर पारेका छन् र व्यवसाय गरेका छन्,’ उनले भने, ‘मैले २/३ ठाउँको जग्गामा मात्रै टेण्डर पारेर भाडामा लिएको छु । त्यो पनि नीति नियम भित्र रहेर । के मैले गल्ती गरेँ ?’
३ दाजुभाइको मेहनत र कर्मका कारण बतास समूह अहिलेको अवस्थामा आएको उनले बताए । बैंक तथा वित्तीय संस्थाले पत्याएका कारण पनि आफूले व्यवसायमा सफलता पाएको बतास बताउँछन् । ‘३ दाजुभाइबाट काम गर्दा हामीले धेरै मेहनत गरेका छौं । मेहेनत गर्दै जाँदा हजारौं दाजु भाइ बनाएको छु,’ उनले भने । तनहुँमा जन्मिएको सामान्य व्यक्तिले यति धेरै प्रगति कसरी गर्यो भन्ने पनि कसैलाई लागेको हुनसक्ने बताउँदै बतासले इमान्दार भएर काम गर्दा आफूले सफलता प्राप्त गरेको बताए ।
आफूले नीति नियम भित्र रहेर काम गरेको बताउँदै बतासले नारायणहिटी दरबारभित्र बनाएको संरचना भत्काइएको प्रति दुःख व्यक्त गरे । ‘नीति, नियम भित्र रहेर काम गर्दा अन्याय हुन्छ भने म कानुनी लडाईंबाट अगाडि बढ्छु,’ उनले भने, ‘मैले आजसम्म बल बुद्धिले भ्याएसम्म गलत काम गरेको छैन र अबको दिनमा पनि गर्दिन ।’
कामका लागि हजारौं अवसर रहेको बताउँदै बतासले आफूले कर्म गरिरहने बताए । ‘हामीलाई कामका लागि हजारौं अवसर छन् । काम गर्दा-गर्दा फुर्सद नै छैन,’ बतासले भने, ‘अहिले एक हजारलाई रोजगारी दिएको छु । अब मैले दश हजारलाई रोजगारी दिन चाहन्छु ।’
पोखरामा मणिपाल कलेज खरिद, पशुपती धर्माशालामा होटल सञ्चालन लगायतका सबै व्यवसायमा आफूले कानून संवत रुपमा लगानी गरेको बतासले बताए । ‘नियम कानुन मिचेर काम गरेको छु भने यहाँ धेरै निकाय छन् । छानबिन गर्न सकिन्छ,’ उनले भने, ‘कानुन विपरित कोही पनि अगाडि बढ्न सक्दैन ।’ काम गरिखाने व्यक्तिहरुलाई निरुत्साहित नगरी प्रोत्साहन गर्नुपर्ने बतासले भनाइ छ ।




Comments are closed.