अन्नपूर्ण हिमालबाट ३ हजार ६ सय किलोग्राम फोहर संकलन

म्याग्दी ।  आरोहणको ७२ वर्षपछि म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालबाट ३ हजार ६ सय किलोग्राम फोहर संकलन गरिएको छ । नेपाली सेनाको हिमाल सरसफाइ अभियानमार्फत अन्नपूर्ण हिमाल र आधार शिविरबाट फोहर संकलन गरिएको हो ।

आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्छ । विसं २०७९ चैत १७ गते गएको सेनाको हिमाल सरसफाइ टोली मङ्गलबार आधार शिविरबाट फर्किएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । सेनाका १० र पिक प्रमोशन ट्राभल एजेन्सीका १३ जनाले ४८ दिनसम्म हिमाल र आधार शिविर क्षेत्रमा फोहर संकलन गरेका थिए ।

सफाइ अभियानको नेतृत्व नेपाली सेनाका सेनानी गजेन्द्र देउवाले गरेका थिए । क्याप्टेन भीमबहादुर भुजेलसहितको टोलीले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोसम्मै पुगेर फोहर संकलन गरेको हो । एक हजार दुई सय किलोग्राम कुहिने र दुई हजार चार सय नकुहिने फोहर सङ्कलन गरिएको टोलीले जनाएको छ । कुहिने फोहर आधार शिविरदेखि तीन घन्टाको पैदलयात्रा बेँसीतर्फ झरेपछि पुगिने भुसकेतमा नारच्याङको अन्नपूर्ण युवा क्लबका प्रतिनिधिको रोहबरमा खाडल खनेर व्यवस्थापन गरिएको छ ।

footwear zone

नकुहिने फोहर प्रभु एयरको हेलिकोप्टरबाट म्याग्दीको दानामा ल्याइएको छ । आधार शिविरबाट हेलिकोप्टरमा ल्याइएको फोहर ट्रकमा राखेर दानाबाट काठमाडौँस्थित नेपाली सेनाको मुख्यालयमा पठाइएको दानाका इन्द्रसिंह शेरचनले बताए । प्लास्टिक, टिन, फलाम र सिसाजन्य दुई हजार चार सय किलोग्राम फोहर काठमाडौं लगिएको हो ।

आरोहणको ७२ वर्षपछि अन्नपूर्ण हिमाल र आधार शिविर क्षेत्रमा सरसफाइ भएको गाउँ संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए । “आरोहण र पदयात्राका लागि गएकाहरूले फालेका सामानले फोहर बढ्दै गएको थियो”, उनले भने, “सेनाको टोलीले पहिलोपटक अन्नपूर्ण हिमाल सरसफाइ गरेको हो ।”

हिमाल सरसफाइका लागि पोखरा महानगरपालिकाले सेनालाई रु १५ लाख सहयोग गरेको छ । सेनाले अन्नपूर्ण, सगरमाथा, ल्होत्से र बरुञ्चे हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गरेको छ । गण्डकी प्रदेशमा रहेको आठ हजार मिटर अग्लो धवलागिरि र मनास्लु हिमालमा यसअगाडि नै सरसफाइ गरिएको थियो । हिमालमा हुने फोहरले वातावरणको सन्तुलन पनि गुमाएको र गलत सन्देश गएकाले सेनाले सफाइ अभियान चलाएको हो । सन् २०१९ देखि हिमाल सरसफाइ अभियान सञ्चालन गरेको नेपाली सेनाले अघिल्लो वर्ष सगरमाथा, ल्होत्से, मनास्लु र कञ्चनजङ्घा हिमालबाट कुहिने सात हजार एक सय ५७ किलो फोहर संकलन गरेको थियो ।रासस

You might also like

Comments are closed.