किसानलाई अनुदानमा कृषि सामग्री र औजार वितरण

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले किसानलाई पचास प्रतिशत अनुदानमा कृषि सामग्री र औजार उपलब्ध गराएको छ । कृषिमा यान्त्रिकरण गरेर उत्पादन र गुणस्तर बढाउन तथा लागत घटाउन सामग्री र औजार खरिदमा अनुदान उपलब्ध गराएको हो ।

दुई सय ६१ जनालाई प्लास्टिक टनेल, ७८ लाई स्प्रे, ७४ लाई सिकेचर, २९ लाई यान्त्रिक हलो, १० पिसानी मिल, ८ च्यापकटर र १३ वटा थ्रेसर वितरण गर्न शुरु गरेको गाउँपालिकाका कृषि प्राविधिक मनोज सुवेदीले जानकारी दिए ।

गाउँपालिकाको केन्द्र मौवाफाँटमा मङ्गलबार गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा र प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले कृषि सामग्री र औजार वितरण शुरुआत् गरिएको थियो । “किसानलाई सामान खरीदको कूल मूल्यमा ५० प्रतिशत अनुदान उपलब्ध गराइएको छ,” प्रमुख सुवेदीले भने, “कृषि सामग्री खरीदमा आठ लाख र यान्त्रिकरणका लागि रु १६ लाख विनियोजन गरेको थियो । किसानकोसहित रु ४८ लाख मूल्य बराबरको सामग्री वितरण गरिएको हो ।”

footwear zone

गत कात्तिक २० गतेको कार्यपालिका बैठकले पारित गरेको कृषि यान्त्रिककरण कार्यक्रम कार्यविधि २०७७ लाई आधार मानेर गत मङ्सिर २१ देखि पुस ६ गतेसम्म किसानबाट माग सङ्कलन गरिएको थियो । “टनेल, स्प्रे र बिउबिजन माग गरेका सबै किसानले पाएका छन्,” कृषि प्राविधिक सुवेदीले भने, “यान्त्रिक हलो, थ्रेसर, च्यापकटर र पिसानी मिल भने समूह र फर्मलाई उपलब्ध गराइएको छ ।” विभिन्न फर्मलाई प्रतिस्पर्धा गराएर सामान खरीदको न्यूनतम मूल्य राखेर छनोट गरिएको र किसानमार्फतनै भुक्तानी हुने प्रक्रिया रहेको छ ।

एक सय २० ग्रामको ६ मिटर चौडाइ र १२ मिटर लम्बाइ भएको प्लास्टिक टनेल प्रतिगोटा रु पाँच हजार ८००, डिजेलबाट चल्ने ५।५ हर्सपावर क्षमताको यान्त्रिक हलोलाई रु ४७ हजार, घाँस पराल काट्ने च्यापकटर प्रतिगोटा रु ३८ हजारका दरले आपूर्ति गरिएको जनाइएको छ ।

पिसानी मिल प्रतिगोटा रु २३ हजार ८००, थ्रेसर प्रतिगोटा रु ५९ हजार, सिकिचर प्रतिगोटा रु एक हजार पचास र स्प्रेयर रु दुई हजार पचास न्यूनतम मूल्यमा सामान आपूर्ति गर्ने कबोलेका थिए । कूल मूल्यको ५० प्रतिशत किसान, फर्म, सहकारी र समूहले व्यहोरेका हुन् ।

तीन हजार किबी, तीन हजार दाँते ओखरका बिरुवा वितरण गरिसकेको गाउँपालिकाले बर्खा मौसममा सुन्तला जात फलफूल र केराका बिरुवा वितरण गर्ने जनाएको छ । कृषि ज्ञान केन्द्र र अन्य सरकारी निकायबाट सुविधा नपाएका साना कृषकलाई लक्षित गरेर सामग्री र आंैजार वितरण गरेको अध्यक्ष भण्डारीले बताए ।

You might also like

Comments are closed.