अपर अरुण आयोजनाका प्रभावितले पाउन थाले मुआब्जा

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको अपर अरुण आयोजनाको प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जा गर्न सुरु गरिएको छ।

अप्पर अरुण आयोजनाले भोटखोला गाउँपालिका–२, ४ र ५ साबिक चेपुवा, हटिया तथा पावाखोलाका आयोजना प्रभावित स्थानीयलाई मुआब्जा वितरण गर्न सुरु गरिएको अप्पर अरुण आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले जानकारी दिए।

अप्पर अरुण आयोजनाका लागि भोटखोलामा दुई हजार पाँच सय रोपनी जग्गा अधिग्रहण गरिएको छ। एक हजार ६१ मेगावाट जलविद्युत् उत्पादन क्षमताको अप्पर अरुण आयोजना नेपाल सरकारले नै बनाउने गरी निर्माण अघि बढाइएको छ। आयोजनाले प्रभावित क्षेत्रका तीन सय ३५ घरपरिवारलाई मुआब्जा वितरण गरिने आयोजनाका वरिष्ठ सहायक भण्डारीले बताए। उनका अनुसार हालसम्म भोटखोला–२ हटियाका १५ घरपरिवारलाई करिब रु साढे चार करोड मुआब्जा वितरण गरिसकिएको छ।

footwear zone

उत्तर दक्षिण कोसी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया–६ को जमिन प्रतिरोपनी रु १५ लाख मुआब्जा निर्धारण गरिएको छ। कोसी राजमार्गले छोएको तर बस्ती नभएका हटिया–६ को जग्गा प्रतिरोपनी रु १० लाख निर्धारण गरिएको छ । जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ बमोजिम मुआब्जा निर्धारण समितिको बैठकले सो मूल्य निर्धारण गरेको हो।

त्यस्तै हटिया–८, ९ र चेपुवा–१ को अलैँची बालीसहितको जग्गा प्रतिरोपनी रु नौ लाख ५० हजार र चेपुवा–१, हटिया–८ तथा ९, पावाखोला–३ का अलैँची बाली नभएको पाखा बारीको प्रतिरोपनी रु सात लाख कायम गरिएको थियो ।

आयोजना निर्माणको कार्य दुई वर्षपछिदेखि सुरु हुने भएको छ । आयोजनाको सम्पूर्ण संरचना भोटखोलाको वडा नं २ र ४ मा हुनेछ । सरकारको स्वामित्व रहेको अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले उक्त जलविद्युत् आयोजना बनाउन लागेको हो।

जलविद्युत् आयोजनाको अनुमानित लागत रु दुई खर्बभन्दा बढी छ । सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण सुरु हुनेछ । हाइड्रोपावर निर्माण सुरु भएको छ वर्षभित्रमा सम्पन्न गर्ने योजना छ। रासस

You might also like

Comments are closed.