काठमाडौं । नेपाल एपिएफ अस्पताल र मानवसेवा आश्रमबीच स्वास्थ्य उपचारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उक्त सम्झौता गरिएको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र मानवसेवा आश्रमका संरक्षक डा गोविन्द टन्डनको उपस्थितिमा आश्रम र अस्पतालबीच सम्झौता भएको जनाइएको छ ।
यही माघ ९ गते २०औं सशस्त्र प्रहरी दिवस २०७७ का अवसरमा आयोजित एक समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले कल्याणकारी योजनामार्फत आश्रममा संरक्षित व्यक्तिलाई नेपाल एपिएफ अस्पतालमा निःशुल्क उपचार गर्ने घोषणा गरेका थिए ।
उक्त समारोहमा मानवसेवा आश्रमका संरक्षक डा गोविन्द टन्डनले पवित्र कार्यका लागि सशस्त्र प्रहरी बललाई धन्यवाद दिए । एपिएफ अस्पतालमा उपलब्ध आकस्मिक बहिरङ्ग, साधारण तथा विशेषज्ञ ओपिडी, अन्तरङ्ग सेवाअन्तर्गतका वार्ड सबै, आइसियु, एचसियु एचडियु, माइनर तथा मेजर अप्रेशन सेवा, प्याथोलोजी सेवा निःशुल्क उपलब्ध हुनेछन् ।

यसैगरी रेडियोलोजीअन्तर्गत एक्स–रे, सिटी स्क्यान, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी तथा फिजियोथेरापी सेवाका साथै आइसियु र डाइलासिसका लागि प्रयोग हुने अस्पतालमा उपलब्ध औषधिहरु, मुटुरोग, मिर्गौला रोग मधुमेह आदि भई आजीवन औषधि सेवन गर्नुपर्ने बिरामीका लागि अस्पतालमा उपलब्ध औषधिसमेत निःशुल्क उपलब्ध गराइनेछ ।
अस्पतालमा अक्सिजन प्लान्ट रिफिल सिस्टम जडान भई चालू हालतमा रहेको अवस्थामा आश्रमका बिरामीलाई प्रयोग हुन सक्ने अक्सिजन सिलिन्डर उपलब्ध भएमा निःशुल्क रिफिलिङ र आश्रमको सिफारिसमा काठमाडौं उपत्यकाभित्र निःशुल्क एम्बुलेन्स सेवा तथा शववाहन सेवा, अस्पतालबाट खरीद गरिएका औषधि निःशुल्क प्रदान गरिने सम्झौतामा उल्लेख छ ।




Comments are closed.