काठमाडौं । नेपाल प्रहरीले रु ६५ हजार ३३५ नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्नका लागि रङ्गीन प्रिन्ट गरिरहेको अवस्थामा ५ जनालाई बुधबार साँझ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ की ५६ वर्षीया गोमा श्रेष्ठ, सोही ठाउँकी ४१ वर्षीया पुष्पा थापामगर, रामेछाप सिरुवारी गाउँपालिका–२ का २६ वर्षीय समरोज थापामगर, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–२ का १९ वर्षीय चिरञ्जीवी जोती र सोही ठाउँका २३ वर्षीय सुजन जोती रहेका छन् ।
गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकामा नक्कली पैसा लिएर सामान खरिद गर्दै हिँडिरहेको अवस्थामा गोमा श्रेष्ठलाई शङ्कास्पद अवस्थामा फेला पारेर खानतलासी गर्दा नक्कली नोटसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

“पक्राउ गोमा श्रेष्ठसँग गरिएको अनुसन्धानका क्रममा थप चारजनालाई नक्कली पैसा छाप्न प्रयोग गरिने मेसिनसहित नियन्त्रणमा लिएका हौँ”, प्रवक्ता बस्नेतले भने । प्रहरीले पक्राउ परेकासँग सक्कलीजस्तो देखिने नक्कली नोट रु ६५ हजार ३३५, नक्कली नोट बनाउन प्रयोग गरिने प्रिन्टर मेसिन, कागज, कागज टाँस्न प्रयोग गरिने फेविकल दुई थान, किप्याड मोबाइल एक थान, स्क्रिनटज मोबाइल एक थान, लालीगुँरास छाप भएको छाप एक थान, कागज काट्न प्रयोग गरिने कैँची एक थान बरामद गरेको छ ।




Comments are closed.