च्याउ खेतीमा सक्रिय दिलकुमारीलाई अन्तर्राष्ट्रिय पुरस्कार

रामपुर (पाल्पा) । पाल्पाको तिनाउ गाउँपालिका–३ भूतखोलास्थित पाल्पा बुटवल सडक खण्डमा कन्ये च्याउको व्यावसायिक खेती गरेकी दिलकुमारी रोकामगर वर्ष २०२१ का लागि विश्वका ग्रामीण क्षेत्रमा काम गर्ने दश महिलाको सूचीमा परेकी छिन् । उनले वुमन वल्र्ड समिट फाउन्डेसन (डब्लुडब्लुएसएफ) जेनेभा, स्वीटजरल्यान्डबाट हरेक वर्ष प्रदान गरिने एक हजार डलर राशिको पुरस्कार प्राप्त गरेको हो ।

“च्याउ खेतीबाट यति ठूलो सफलता पाइएला भन्ने लागेको थिएन, सिर्जनशील महिलाको छनोटमा परी अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा व्यवसायमा औधी खुसी लागेको छ”, दिलकुमारी भन्छिन् । उनी साहसी र अग्रणी सिर्जनशील महिलाका रुपमा छनोटमा परेकी हुन् ।

डब्लुडब्लुएसएफले हरेक वर्ष ग्रामीण क्षेत्रमा अहोरात्र खट्ने विश्वभरका दश महिलालाई सम्मान गर्दै आएको छ । उनलाई अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसका दिन यो पुरस्कार प्रदान गरिनेछ । “हामीजस्ता महिलाले गरेको मिहिनेत, काम र सङ्घर्षको मूल्याङ्कन हुँदा व्यवसायमा जोस, जाँगर थपिएको छ, अन्तर्राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गर्नु नै मेरो लागि जीवनको ठूलो सफलता हो,” उनले खुसी हँुदै भनिन् ।

footwear zone

विगत एक दशकदेखि यस व्यवसायमा आबद्ध दिलकुमारीले व्यवसायलाई थप गर्दै जाने बताउँछिन् । गत साउनदेखि स्थायी संरचना तयार पारी व्यवस्थित तरिकाले खेती गर्ने उद्देश्यका साथ उनी लागेकी छिन् । “बाह्रै महिना खाली नहुने गरी उत्पादन गर्न स्थायी संरचना तयार पार्दैछु, च्याउ खेतीले आयस्रोत राम्रो बनेको छ भने देश तथा विदेशमा पनि मलाई चिनाएको छ, अब व्यवसायलाई विस्तार गर्दै जाने हो,” उनले भनिन् ।

उनको फार्ममा हाल एक हजार सात सय बल्ब च्याउ छन् । एक दशकअघि दुई सय बल्बबाट व्यवसाय थालनी गरेकी दिलकुमारीलाई हाल च्याउ खेतीले दाम मात्र होइन राम्रो पहिचान बनाइदिएको छ । गत वर्ष च्याउ बिक्रीबाट रु सात लाख आम्दानी गरेकी उनी यस वर्ष करिब नौ लाखसम्म कमाई गर्ने लक्ष्य राखेकी छिन् । धेरै उत्पादन हुँदा दैनिक एक क्विन्टलसम्म च्याउ घरबाटै बिक्री गर्ने दिलकुमारीले सिद्धार्थ राजमार्गमा व्यवसाय भएकाले पनि बिक्री गर्न झन्झट नभएको बताउँछिन् । यहाँ उत्पादन भएको च्याउ पाल्पा तथा बुटवल बजारमा खपत भइरहेको छ ।

उनी भन्छिन्, “असारमा राखेको बीउबाट च्याउ उम्रिएर यस वर्ष साउनदेखि नै धमाधम बिक्री भइरहेको छ, फार्मबाटै बजार मूल्य हेरेर थोकमा प्रतिकिलो रु २१० देखि २२० मा अहिले खपत हुँदैछ, व्यापारी यहीँ आएर च्याउ खरिद गर्ने हँुदा धेरै सजिलो छ ।”

राजनीति गर्ने क्रममा रोल्पाबाट कपिलवस्तु हँुदै पाल्पा आइपुगेकी उनलाई यहाँको परिवेशबारे धेरै जानकारी पाएपछि पाल्पामै बसेर व्यवसाय गर्ने सोच राखेर च्याउ खेती गरेको बताउँछिन् । रोल्पाको दुर्गम थवाङ गाउँपालिकाको उवामा जन्मिएकी दिलकुमारी सशस्त्र द्वन्द्वका बेला नेकपा माओवादी केन्द्रमा आबद्ध रही हतियार बोकेर सक्रिय राजनीतिमा लागेकी थिइन् । शान्ति सम्झौतापश्चात् उनी आयआर्जनमूलक व्यवसाय गर्ने मनसाय बोकेर यहाँ आइपुगेकी हुन् ।

च्याउ खेतीमा प्रोत्साहन गर्दै व्यवसाय सुरु गर्दाका क्रममा साबिक जिल्ला कृषि विकास कार्यालय पाल्पाले रु २५ हजार अनुदान दिएपछि यस व्यवसायमा उत्साह बढ्दै जाँदा अहिले वर्षमा च्याउबाट लाखौँ कमाउन सकिने भएको उनको अनुभव छ । दिलकुमारीले आफूमात्रै होइन गाउँका अन्य छिमेकी महिलालाई पनि यस व्यवसायमा लाग्न प्रेरित गराउँदै च्याउ खेती गर्ने प्रविधि सिकाउने गर्छिन् । उनलाई यस व्यवसायमा परिवारको राम्रो साथ छ । श्रीमान् तुलारामसँगै द्वन्द्वकालीन समयमा माओवादीमा आबद्ध रही सक्रिय राजनीति गरेकी दिलकुमारीले व्यवसायका लागि पाल्पा रोजिन् । च्याउ खेतीमा लगानी धेरै काम गर्न नपर्ने र बजार मूल्य राम्रो, बजारमा च्याउको माग बढ्दो रहेको हुँदा व्यावसायिक खेती गरेर मनग्य आम्दानी गर्न सकिने उनको अनुभव छ ।

You might also like

Comments are closed.