लेखनाथ । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट गण्डकी प्रदेश केन्द्रीय सदस्यमा निर्वाचित बाबुराम गिरीलाई लेखनाथ उद्योग वाणिज्य संघले मंगलबार एक कार्यक्रमबीच बधाई तथा सम्मान गरेको छ । मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा भएको महासंघको अधिवेशन अन्तर्गत १३ गते भएको चुनावी कार्यक्रममा गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदका लागि संघका पूर्व अध्यक्ष बाबुराम गिरी र वर्तमान गण्डकी प्रदेश केन्द्रीय सदस्य निर्माण श्रेष्ठ (वासु) का विच प्रतिस्पर्धा हुँदा गिरीले ३ मतको अन्तरले श्रेष्ठलाई पराजित गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित केन्द्रीय सदस्य गिरीले गण्डकी प्रदेश भित्र रहेका २० वटा उद्योग वाणिज्य संघहरुका समस्याहरुलाई केन्द्रीय तहसम्म पुर्याउने प्रतिवद्धता व्यक्त गर्दै सबैजनाको एकता र सामुहिक भावनाले विजय प्राप्त गर्न सफल भएको वताएका थिए । लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं सल्लाहकार समेत रहेका गिरीले यो जित संघको मात्र जित नभएर सम्पूर्ण व्यवसायीहरुको जित भएकोमा जोड दिदै लेखनाथ उद्योग वाणिज्य संघको सम्पूर्ण टिमको एकताका कारण यो सम्भव भएको वताए । उनले यो एकताको अन्य उद्योग वाणिज्य संघले पनि अनुशरण गर्नुपर्ने वताएका थिए ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले सामुहिक प्रयासले नै सफलता हात परेको बताउँदै आगामी दिनमा आफूलाई मत दिनेलाई मात्र नभई मत नदिनेहरुको समेत मन जितेर अगाडि बढ्नुपर्ने बताएका थिए । उनले प्रदेशका सम्पुर्ण नगर उद्योग वाणिज्य संघहरुसँग सहकार्य गर्दै व्यवसायीहरुको हक हितका लागि लाग्न सुझाव दिएका थिए ।

संघका पूर्वअध्यक्ष एवं वरिष्ठ सल्लाहकार सुमन भटृराईले गिरीको जितलाई सम्पूर्ण व्यवसायीहरुलाई उत्साहित बनाएको बताउँदै व्यावसायिक हकहितका सवालमा अझ बढि संगठित हुँदै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष क्षत्रधर आत्रेयले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव गोपिचन्द्र बाँस्तोलाले गरेका थिए ।




Comments are closed.