नदी किनारमा फोहर फाल्नेलाई कारवाही

काठमाडौं । उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदी किनारस्थित आ–आफ्ना घर एवं कार्यालय अघि फोहर फाल्ने दुई व्यक्ति र एक व्यवसायीलाई कारवाही गरिएको छ ।

काठमाडौं महानगरपालिका–३१ स्थित मीनभवन, आलोकनगर क्षेत्रको घर अगाडि सार्वजनिक सडकपेटीमा फोहर एवं सामान राखेकोमा अब्दुल अली खानलाई रु चार हजार, ध्रुव सिट हुड वर्कसलाई रु एक हजार र खगेन्द्र कुँवरलाई रु एक हजार गरी जम्मा रु छ हजार जरिवाना गरिएको छ । जरिवाना रकम काठमाडौं महानगरपालिका वातावरण विभागको कोषमा दाखिला गरिएको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी गोविन्द काफ्लेले राससलाई जानकारी दिए ।

वाग्मती सफाइ महाअभियानको ४०५औँ हप्ताको सफाइ तीनकुने एवं मीनभवन क्षेत्रको वाग्मती किनारमा भएको थियो । शनिबारको सफाइबाट १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको पनि उनले बताए । मीनभवन, आलोकनगर र तीनकुने सुविधानगरको बीचबाट बग्ने वाग्मती नदी भित्र र किनाराको फोहर व्यवस्थापन र सर्वसाधारणमा जनचेतना जगाउने काम पनि आज गरिएको सफाइ अभियानकर्मी प्रमिला पौडेलले जानकारी दिइन् । जनचेतनाकै सिलसिलामा काठमाडौं महानगरपालिकाले शहर स्वच्छ सफा राखौँ भन्ने आह्वानकासाथ माइकिङ समेत गरेको थियो ।

footwear zone

सफाइमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेल, सरकारका पूर्वमुख्यसचिव एवं चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौड्याल, नेपालको पहिलो कमेडियन च्याम्पियन हिमेश पन्त, अधिकार सम्पन्न वाग्ग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, सहयोगी नगर टोल सुधार समिति, आलोक नगर सफाइ समूह, आलोकनगर आमा सेवा नेपाल, फोहर मैला वातावरण वानेश्वर, पहिलो पाइला, एस ट्राभल्स, वाग्मती फोहर उन्मूलन नमूना उपभोक्ता समिति, नेपाली सेना, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिका कर्मचारी, वाग्मती सफाइ अभियानकर्मी एवं स्थानीय सर्वसाधारण समेत सयौँको उपस्थिति थियो ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान चिसो, गर्मी, वर्षाद्, चाडबाड, भूकम्प, कोभिडको महामारी जस्ता समयमा पनि निरन्तर चल्दै आएको छ । वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकामा यसका सहायक नदीसमेत सफाइ हुन थालेको छ । उपत्यकामा गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती माथिल्लो र तल्लो खण्ड, मनोहरा, चक्रपथका उत्तर र पश्चिम खण्डमा सफाइ गरिएको छ ।

You might also like

Comments are closed.