सुन्दर नमूना बस्तीमा नअडिएको मन

जमुनावर्षा शर्मा÷पोखरा । गोरखाको बारपाकमा इपिसेन्टर बनाएर विसं २०७२ मा गएको भूकम्पले त्यस क्षेत्रलाई नराम्ररी प्रभावित बनायो । भूकम्पपछि राष्ट्रिय अन्तर्राष्ट्रियरुपबाटै सबैको ध्यान उक्त ठाउँमा केन्द्रित भयो । बारपाकमा भूकम्पबाट ७२ जनाले र लाप्राकमा ३६ जनाको ज्यान गयो । लगोरखाकै लाप्राकमा ११ गोठाला एकै ठाउँमा पुरिए ।

भूकम्पपीडितका लागि गैरआवासीय नेपाली सङ्घले लाप्राकको धार्चे गाउँपालिकाको गुप्सीपाखामा ५७३ घर निर्माण गरिदियो । उक्त क्षेत्रका केही बस्ती भूकम्पबाट विस्थापित भएपछि तत्काल एनआरएनले निर्माण गरिएको सुन्दरबस्ती अहिले मानिसविहीन उराठ लाग्दो छ ।

उक्त ठाउँमा त्यसबाहेक पनि थप २९ घर निर्माण भएका छन् । सुन्दर हिमशृङ्खलासहितको काखमा बिहानको सूर्योदयको किरणले उस्तै मनमोहक देखिने उक्त नमूना बस्तीमा पुग्दा मानिसविहीन सुनसान छ ।

footwear zone

भूकम्पबाट विस्थापित घार्चे गाउँपालिका–४ की ६० वर्षीया माइली गुरुङले नमूनाबस्तीमा कहिलेकाहीँ पाहुना आउँदा मात्र जाने गरेको बताए । “हेर्दा त निकै राम्रो देखिन्छ तर सबै परिवार अटिदैन, दुई तीन जनाको लागि मात्रै हुन्छ, सानो ठाउँमा कसरी छ सात जनाको परिवार बस्ने, गाईवस्तु पाल्ने ठाउँ पनि छैन”, उहाँले भन्नुभयो, “घरमात्र राम्रो भएर भएन, सबैले खेतीपाती गरेर खानुपर्छ, घरमा मात्र बसेर कस्ले खान दिन्छ, खेतीपाती गर्ने ठाउँ एकातिर छ, घर अर्कोतिर भयो ।”

भूकम्पपीडित बस्न नखोज्नुको कारणबारे गोरखा घर भई हाल पोखरामा रहेर पत्रकारिता गर्दै आएका पत्रकार प्रकाश ढकाल भन्छन्, “लाप्राकको नमूना बस्ती देखिने र सजिने मात्रै भयो तर मानिसको मन अडिने जीवन चल्ने आधारभूत कुरा त्यहाँ भएन ।” निर्माण पूर्व वैज्ञानिक अध्ययन र जनजीवन नबुझ्दा करौडौंको लगानी अलपत्र परेको उनको भनाइ छ ।

उनले भने, “गैर आवासीय नेपाली सङ्घले भूकम्पपीडितका लागि बनाएको नमूना बस्ती राम्रो हो, तर ठाउँ छनोट र गाउँको परिवेश जनजीवनबारे अध्ययन गरिएन, जुन ठाउँमा बस्ती बनाइएको छ, त्यहाँ जमिनबाट पानीको मूल फुट्छ, भौगोलिक स्थिति पनि उपयुक्त छैन, घर उस्तै साँघुरा छन् ।” ढकालले बस्ती राख्नका लागि उपयुक्त स्थान नभएकाले बस्न नसकेको बताए । उक्त ठाउँमा स्की खेलका लागि निकै उपयुक्त रहेको र त्यसलाई जोगाएर पर्यटकीय गन्तव्यमा विकास गर्नुपर्नेमा गलत स्थानमा बस्ती राखिएको ढकालको टिप्पणी छ ।

गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले खेतबारी एकातिर र घर अर्कोतिर हुँदा गाउँलेलाई सहज नभएको बताए । “एनआरएनले भूकम्पपीडितका लागि निकै राम्रो सोचले घर बनाइदिनुभयो, अहिले बस्तीमा कोही बस्न मान्दैनन्, नमूना बस्तीमा स्थानान्तरणका लागि केही असहजता छ, हामीले विकल्पको खोजी गरेका छौं, उक्त गाउँलाई उद्यमी गाउँको रुपमा विकास गर्न सम्भाव्यता अध्ययन भइरहेको छ”, अध्यक्ष गुरुङले भने ।

बस्ती स्थानान्तरणका लागि विकल्प खोजीएको उनले बताए । गुरुङका अनुासार गाउँको बीचबाट स्की गर्ने र नमूना बस्ती माथिबाट जीप प्लायरका लागि डिपिआर तयार हुँदै छ । गोठाला पुरिएर मृत्यु भएको ठाउँमा भूकम्पीय गोठाला पार्क बनाइँदैछ । गाउँपालिकाले ‘इपिसेन्टर एड्भेन्चर ट्रेल’ गण्डकी प्रदेशको उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालमार्फत् उद्घाटनसमेत गरेकोे छ ।

You might also like

Comments are closed.