बेनी–जोमसोम सडक दैनिक ६ घण्टा बन्द

म्याग्दी । स्तरोन्नतिका कारण बेनी–जोमसोम सडकको म्याग्दी खण्ड सोमबारदेखि दैनिक ६ घण्टा बन्द हुन थालेको छ ।

राष्ट्रिय गौरवको उत्तर/दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिर र वडा नं २ नौनीबगर खण्डमा सडक स्तरोन्नति गर्न थालिएको छ । सडकमा यातायात सञ्चालन हुने समयतालिका लागू भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका र मुस्ताङका बासिन्दा, तीर्थयात्री, पर्यटक र व्यवसायी प्रभावित भएका छन् ।

आयोजना प्रमुख जगत प्रजापतिले यही माघ २१ गतेसम्म बिहान ८ देखि ११ बजे र दिउँसो १ देखि ४ बजेसम्म यातायात सेवा बन्द गरेर विस्तार र निर्माणको काम गर्न समयतालिका तय गरिएको जानकारी दिए । “महभिर खण्डमा चट्टान काट्नुपर्ने र नौनीबगर खण्डमा विस्तार एवम् स्तरोन्नतिका लागि समय तालिका बनाएका छौँ,” उनले भने “दुर्घटनाको जोखिम न्यूनीकरण र निर्माणको कामलाई व्यवस्थित तथा तीव्र बनाउन यातायात सञ्चालनको समयतालिका बनाउनुपरेको हो ।”

footwear zone

विसं २०७४ मा सुरु भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०० किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ खण्डमा हाल निर्माण भइरहेको छ । हालसम्म मुस्ताङको ६ खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति ६५ प्रतिशत छ । महभिर र नौनीबगर खण्डमा ११ मिटर सडक बनाएर कालोपत्र गर्न शर्मा–युनाइटेड जेभीले ठेक्का लिएको थियो ।

मजदुर एक्साभेटरलगायत उपकरण परिचालन गरेर सडक निर्माण र स्तरोन्नतिलाई तीव्रता दिइएको कम्पनीका प्रतिनिधिले बताएका छन् । उन्नाइस किलोमिटर दूरीको म्याग्दीको गलेश्वर–नारच्याङ खण्डको गलेश्वर र राहुघाटदेखि बेगखोलासम्मको ६ किलोमिटर सडकमा गत जेठमा डिबिएसडी प्रविधिको कालोपत्र सुरु भएको थियो । बेगखोलादेखि नारच्याङ पुलसम्मको अधिकांश भागमा पनि विस्तार, पर्खाल र नाली निर्माणको काम सकिएको छ । आगामी चैत महिनाभित्र कालोपत्र गर्ने तयारीसहित कतिपय ठाउँमा सब बेस राखिएको छ ।

You might also like

Comments are closed.