स्वागत र विदाइमा बर्ष बित्यो, विरामीका समस्या कहिले होलान् समाधान ?

नारायण अधिकारी/चितवन । बिहानको ९.२० बजेको थियो । एक वृद्ध अस्पतालमा टिकटको लाइन बस्न नसकेर भरतपुर अस्पताल अगाडि रहेको साझा फार्मेसी नजिकै रहेको चौतारीमा सुस्ताउँदै थिए । उनि बिहान ७.३० बजे अस्पतालमा बहिरंग सेवाको टिकट लिनका लागि आएका थिए ।

भरतपुर महानगरपालिका–५ निवासी ७५ वर्षीय चीनबहादुर देउजाले श्रीमतीलाई टिकटको लाइनमा राखेर आफू टिकटको प्रतीक्षामा थिए । उनिसँग कुराकानी हुँदै गर्दा बल्लतल्ल असिनपसिन हुँदै उहाँकी श्रीमती टिकट लिएर आइन् । टिकट त पाइन् तर आजै परीक्षण हुन्छ कि हुँदैन भन्नेमा उनलाई चिन्ता लागिरहेको थियो । हाडजोर्नी र नशाको समस्या लिएर उनि अस्पताल आएका थिए। उनले भने, “पहिले पहिले त टिकट काट्ने ठाउँमा ज्येष्ठ नागरिकका लागि छुट्टै लाइन हुन्थ्यो । अहिले त त्यस्तो रहेनछ ।” ज्येष्ठ नागरिकको लाइन नहुँदा बिहानेखि लाइन बस्नुपरेको उनको गुनासो थियो । एकातर्फ आफ्नो रोग अर्कोतर्फ कोरोनाको डरकाबीच भीडभाड देखेर उनको मन आत्तिएको थियो । उनले भने, “एउटा रोगको उपचार गर्दा अर्को रोग लाग्छ कि भन्ने डर लागिरहेको छ ।”

देउजा त प्रतिनिधि पात्रमात्रै हुन् । भरतपुर अस्पतालमा परीक्षणका लागि जाने सबैको अवस्था उस्तै छ । चितवनसहित १९ भन्दा बढी जिल्लाबाट यहाँ उपचारका लागि बिरामी आउने गर्दछन् । सहज टिकट काट्न नपाउँदा बिरामी र उनका आफन्तले कष्ट व्यहोर्दै आउनुपरेको छ । कोभिडको त्रासमा पनि कुनै स्वास्थ्य मापदण्डबिना नै बिरामी र आफन्तले टिकट काट्नुपरेको छ । कतिपयका आफन्त नभएर बिरामी आफै आउनु पर्दा झन ठूलो पीडा व्यहोर्नु पर्छ ।

footwear zone

अस्पतालमा बिहान ८ बजेदेखि ११ः३० बजेसम्म मात्रै बहिरंग सेवाको टिकट पाइन्छ । टिकटका लागि छोटो समय दिइएका कारण एउटै समयमा भीडभाड हुने गर्दछ । भीड हुने भएपछि बिरामी बिहान ६ बजेदेखि नै लाइनमा बस्ने गर्दछन् । गैँडाकोटबाट उपचारका आएका झलक शर्मा लाइनमा बस्दाको सास्ती सुनाउँदै थिए । उनले भने, “अस्पतालमा टिकट काट्नै सास्ती छ । टिकट काट्ने समयमा जनशक्ति बढाएर छिटो गर्नुप¥यो ।” बिहान देखिएको दृश्य हेर्दा अस्पतालमा कुनै हाटबजार लागे जस्तो देख्न सकिन्थ्यो । बहिरङ्ग सेवाबाट उपचार लिन आउने बिरामीको लाइन लामो देख्न सकिन्थ्यो । त्यति मात्रै नभएर टिकट काउण्टर अगाडिको खाली ठाउँमा खचाखच भीडभाडले गर्दा बिरामी एउटा रोगको उपचार गर्न आउदा अर्को रोग सारेर जाने हुन कि भन्ने डर बढेको उनले बताए ।

भरतपुर महानगरपालिका–९ का विजङग भट्टले अस्पतालको कमजोरीका कारण टिकट काउण्टरमा भीड बढेको बताए । उनले भने, “स्रोतसाधनको उपभोग गरेर टिकट काउण्टरमा भीडभाड बनाउनुभएन । चिकित्सक पनि समयमा आएर बिरामी परीक्षण गरिदिनु प¥यो ।” समयमा टिकट काटे पनि ११ बजे चिकित्सक आउने हुँदा कुरेर बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो । उनले भने, “टिकट काट्न लाइन बस्नुप¥यो । अनि चिकित्सक समयमा आउँदैनन् । बिरामीको समस्या कस्ले बुझ्छ ?”

गितानगरबाट उपचारका लागि आएका वसन्तबहादुर थापाले अस्पतालको टिकट काउण्टरदेखि स्वास्थ्यपरीक्षण गर्दासम्म भीडभाडमा बस्नुपर्ने बताए । उनले भने, “सरकारको सामाजिक दुरी गाउँघरमा मात्रै हुँदोरहेछ ।” अस्पतालमा स्वास्थ्यको मापदण्डपालना नभएकोमा उनले गुनासो गरे ।

अस्पतालमा कार्यकारी प्रमुख (मेसु) निरन्तर परिवर्तन हुँदा काम हुननसकेको हो । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले सूचना प्रविधि विभागलाई अनलाइन टिकटका लागि तयारी गर्न भनिएको बताए । यसैगरी अस्पतालमै सबै रोगको बिरामी आएपछि परीक्षण गरेर सामान्यलाई त्यहीबाट औषधि लेखेर पठाउने र जटिललाई विशेषज्ञकहाँ पठाउने गरी (एमडिजिपी) क्लिनिक सञ्चालन गर्ने भनिएको भए पनि काम हुन नसक्दा समस्या भएको अधिकारीको भनाइ छ ।

गएको एक वर्षमा सातौं मेसुको कार्यभार मंगलबारबाट डा कृष्ण पौडेलले सम्हालेका छन् । अस्पतालभित्रकै एक चिकित्सकले भने, “एक वर्षमा सात पटक स्वागत र ६ पटक बिदाइ कार्यक्रम बाहेक अस्पताल सुधारका कुनै काम हुनसकेन ।” अस्पतालमा दैनिक १ हजार ५ सय हाराहारी बहिरंग सेवाका बिरामी आउने गर्दछन् । रासस

You might also like

Comments are closed.