पोखरा । गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले काहुँडाँडाको विकासका लागि गुरुयोजनासहित विकासका योजना ल्याउने बताएका छन् ।
गठबन्धनबाट कास्की क्षेत्र २(२) मा प्रत्यक्ष उम्मेदवार बनेका थापाले पोखरा महानगरपालिका वडा ११ काहुँ डाडाँमा घरदैलो गर्दै गरेको चुनावी कोणसभामा उक्त कुरा बताएका हुन् । थापाले वडा नं. ११ मा काहुँडाडा निकै पिछडीएको बताउँदै यसको विकासका लागि गुरुयोजना अघि सार्न आवश्यक रहेको सुनाए ।
उनले आफु अबको पाँच वर्ष पनि जनताको काम गर्नका लागि आएको सुनाउँदै अघिल्लो पाँच वर्ष प्रदेश नामाकरण, प्रदेश संरचना निमार्ण, नीति नियम, ऐन कानुन निमार्ण गर्दा सकिएको स्पष्ट पारे । थापाले आफुले पाँचवर्ष अघि जितेर गएपनि विकासका योजना ल्याउने मन्त्रालयमा नपर्दा चाहेजति विकास गर्न नसकेकोमा आफु लज्जित भएको बताए ।

‘म यो ठाउँको सांसद् भएर पनि तपाईँहरुले चाहेजतिको विकास गर्न सकिन । मेरो अधिकार क्षेत्रले जति दियो त्यतिमात्रै गरे । फेरी मैले मन्त्रालय पनि विकासका योजना ल्याउने खालको पाइन’, उनले भने,‘तपाईहरुलाई थाहै छ म कानुन बनाउने मन्त्रालयमा परे । हाम्रै सरकार हुँदा पनि मैले थोरै मात्रै काम गरे।’
थापाले काहुँ विकासका लागि आफुले स्थानीयसँग बसेरै गुरुयोजना निमार्ण गरि अघि बढ्ने सुनाए । थापाले अब आफ्नो ठाउँको लागि पार्टीभन्दा माथि उठेर हेर्नुपर्ने बताए । थापाले रानी बौरहुँदै जाने सडकलाई अब कृषि सडकको रुपमा विकास गर्नेगरी प्रदेशको रातो किताबमा परेको समेत सुनाए । उनले कृषि सडक अन्तरगत एक करोड रुपैयाँ विनियोजन भइसकेको र अब काम सुरु हुन मात्रै बाँकी रहेको बताए ।
उक्त योजनालाई आफु निर्वाचित भएर गएमा बहुवर्षे योजनामा पार्दै स्तरीय कृषि सडकको रुपमा विकास गर्ने बताए । थापाले काहुँमा समेत ठाउँठाउँमा पहिरोको जोखिम भएकाले पहिरो जोखिम नियन्त्रण गर्दै वातावरणीय अनुकुलको विकासलाई बढाउन आजको आवश्यकता रहेको स्पष्ट पारे ।




Comments are closed.