दमक । वर्षासँगै खोला नदीका बस्तीमा जोखिम बढेपछि झापाको अधिकांश स्थानीय सरकारले पूर्वतयारीस्वरुप विपद् व्यवस्थापनको तयारीमा जुटेका छन् ।
नागरिकको सबैभन्दा नजिकको सरकारका रुपमा रहेका स्थानीय सरकारले विपद् जोखिमको व्यवस्थापन गर्न आन्तरिक पूर्वतयारी सुरु गरेका छन् । जिल्लाका विभिन्न खोला नदीको कटान र डुबानको उच्च जोखिममा रहेकाले र त्यसले आइपर्ने चुनौतीको बेलैमा व्यवस्थापन गर्नुपर्ने भन्दै स्थानीय सरकारले विपद् जोखिम व्यवस्थापनका लागि पूर्वतयारी थालेका हुन् ।
विपद्को जोखिम मानिने स्थानीय तहमध्ये अहिले कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाले खोला नदीमा बाढी आउन थालेपछि हुनसक्ने विपद्को व्यवस्थापनअन्तर्गत कटान जोखिम न्यूनीकरणका लागि तटबन्धन, राहत तथा उद्धारको पूर्वतयारीमा जुटेका ती पालिकाले जनाएको छ ।

कमल गाउँपालिकाको वडा नं १ र २ मा कमल खोला, वडा नं ५, ६ र ७ मा चाँजु र रतुवा खोलाको जोखिम बढी रहेकाले ती क्षेत्रलाई लक्षित गरी कार्य अघि बढाइएको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए ।
उनले कतिपय स्थानमा तटबन्धनको योजना ठेक्का लिएर पनि अलपत्र अवस्थामा छोडेको पाइएकाले सम्बन्धित निकायमार्फत योजनालाई अघि बढाउन निर्देशन गरिएको बताए ।
उनले बाढीको जोखिम न्यूनीकरण गर्न कमल गाउँपालिकाका केही स्थानमा बाँसको पाइलिङ ९अस्थायी तटबन्धन० निर्माण कार्य जारी राखिएको जानकारी दिए । उनले भने, “प्राकृतिक प्रकोप हो, यसलाई तत्काल पूरै रोक्न छेक्न नसकिए पनि जोखिम न्यूनीकरण गर्नका लागि हामी लागिपरेका छौँ, यसमा सबै कमलवासीको सहयोग जरुरी छ ।”
अध्यक्ष राईका अनुसार बाढीका कारण मानवबस्तीमा अकस्मात् आउनसक्ने सङ्कटलाई व्यवस्थापन गर्न राहत तथा उद्धारको सम्पूर्ण तयारी पूरा भएको छ । विपद्बाट उत्पन्न हुनसक्ने सबैखाले समस्यासँग जुध्न हामीले तयारी तीव्र बनाएको उनको भनाइ छ । उनले भने, “त्यसका लागि रेडक्रसदेखि, स्वास्थ्य संस्था, सामाजिक संघसंस्था, सुरक्षा निकायलगायत सबैपक्षसँग समन्वय गरेर हामीले पूर्वतयारी बलियो बनाएको तथा बाढी आएर बस्तीमा पसी हालेको खण्डमा पनि बस्ती स्थानान्तरणसम्मको पूर्वतयारीमा लागेका छौँ । कामना गरौँ त्यस्तो अवस्था नआओस् ।”
उता स्मार्टसिटीका रुपमा विकास हुँदै आएको गौरीगञ्ज गाउँपालिकाले पनि सम्भावित जोखिम क्षेत्रमा कटान तथा डुबानबाट जोगाउने प्रयाससँगै राहत तथा उद्धारको पूर्वअभ्याससमेत भइसकेको जनाएको छ ।
सो गाउँपालिकाको वडा नं १ मा केही दिनअघि नेपाली सेनाको टोलीले बाढीमा उद्धारको पूर्वअभ्यास गर्नुका साथै स्वास्थ्य परीक्षण शिविर गरेको वडा नं १ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी दिए ।
गौरीगञ्जमा कन्काई, कमल बनियानी, किस्नी र गौरीया खोला आसपासको क्षेत्र जोखिममा रहेको छ । गाउँपालिका अध्यक्ष फूलवती राजवंशीले कटान जोखिम न्यूनीकरणका लागि अस्थायी तटबन्धन नै तत्कालीन समाधान भएकाले त्यसैलाई प्राथमिकता दिइएको बताए ।
उनका अनुसार सिँचाइ डिभिजन कार्यालय गैँडेबाट १० हजार प्लाष्टिकका बोरा अस्थायी तटबन्धनका लागि ल्याइएको छ । आवश्यकताअनुसारका क्षेत्रमा ती बोराको प्रयोग गरी अस्थायी तटबन्धन थालिने उनले जानकारी दिए ।
दमक नगरपालिकाले पनि रतुवा खोलाबाट दमक-१, ७ का वडामा पुर्याउदै आएको क्षतिसँगै थप विपद् आईपरे त्यससँग जुध्ने तयारी धमाधम भइरहेको नगर प्रमुख रामकुमार थापाले बताए ।
त्यस खोलामा केही दिन अघि आएको बाढीले दमक-७ स्थित रतुवा पुल उत्तर क्षेत्रको पक्की तटबन्धन भत्किएपछि त्यहाँका एक दर्जन बढी घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । लगातार वर्षा भइरहेकाले र बाढीसँगै कटानको थप जोखिम बनाएको छ । स्थानीयले तत्काल कटान रोक्नका लागि माग गरेका छन् ।
नगर प्रमुख थापाले खोला किनारको बस्तीमा थप जोखिम आउन नदिन उच्च सतर्कता अपनाइएको बताउनुभयो । कटान प्रभावित क्षेत्रमा धमाधम बाँध बाँध्ने कार्य भइरहेको उनको भनाइ छ । उनले भने, “रतुवा खोलामा आएको बाढीसँगै कटान जारी भए खोला बजारभित्र पस्ने सम्भावना भएकाले त्यस्तो जोखिम हुन नदिन धमाधम काम भइरहेको छ ।”
दमक-७ का वडाध्यक्ष भीमप्रसाद पौड्यालका अनुसार रतुवा पुलसम्म तटबन्धन गर्न ४०० मिटर बाँकी रहेकाले तटबन्धनको काम भइरहेको भए पनि वर्षाका कारण काम छिटो गतिमा अघि बढ्न सकेको छैन । वर्षायाममा हुने विपद् जोखिम न्यूनीकरणका लागि हामीले व्यवस्थापनका सबै उपाय तयारी अवस्थामा रहेको उनले बताए ।




Comments are closed.