झापा । निधारमा निस्किएको मासुको डल्लो अस्वभाविक रुपमा बढ्दै जाँदा मेचीनगर नगरपालिका– ८ की ३५ वर्षीया विष्णुमाया मगरको अनुहार नै छोपिन थालेको छ ।
गीरबीका कारण उपचार गर्न नसकेर अनुहारभरि पलाएको मासुको डल्लो बोकेर भौतारिरहेका विष्णुमायाको समस्या दिन प्रतिदिन बढ्दै गएको छ । निधारमा रहेको मासुको डल्लो बढ्दै गएर दुबै आँखा छोपिन लाग्दा उनलाई हेर्नसमेत समस्या भइरहेको छ । मासुको डल्लो झन–झन बढ्दै जाँदा अब के गर्ने भन्ने अन्यौलताले मगर परिवार चिन्तित छन् ।
“उपचार गर्न जाऔं, पैसा छैन । उपचार नगरौं, अनुहारमा अस्वभाविक रुपमा मासुको डल्लो बढ्दै जाँदा खानपिउन गर्न नै समस्या भइसक्यो,” उनले रासससँग भनीन् । मासुको डल्लो बढेर नाक र मुख छोपिइसकेको र आँखा हेर्नसमेत समस्या हुँदै गएको उनले बताइन् ।

आफ्नो घर नभएपछि काकाकाकीको घरमा बस्दै आएकी उहाँ आर्थिक अभावका कारण उपचारका लागि अस्पताल जान नसकिएको र पीडा सहेर बस्नु परेको दुःखेसो पोखीन् । उनको अनुहारमा के रोगका कारण मासु पलाएको भन्ने थाहा हुन सकेको छैन । काकाकाकीको आर्थिक अवस्था समेत कमजोर छ । बाल्यकालदेखि नै अनुहारमा साना गाठागुठी देखिएको र हाल अस्वभाविक रुपमा बढ्दै जाँदा समस्या उत्पन्न भएको उनको भनाइ छ ।
काम गर्न नसक्ने अवस्था भएकाले जीविकाका लागि सहयोग माग्न उनी मङ्गलबार मेचीनगर नगरपालिकाकाप्रमुख बिमल आचार्यलाई भेट्न कार्यालय पुगेका थिए । आचार्यले नगरपालिकाले केही सहयोग गर्ने आश्वासन दिए । नगरका प्रमुखलाई भेटाउन सहयोग पु¥याएकी स्थानीय सामाजिक कार्यकर्ता निर्मला भण्डारीले शारीरिक अशक्त भएको हुँदा विष्णुमायालाई अपाङ्गता परिचयपत्र बनाउन सकेमा सामाजिक भत्ता पाएर जीविका चलाउन सहज हुने बताइन् ।
अपाङ्गता प्रमाणपत्रका लागि पहल गरिदिन उनले नगरपालिकाका प्रमुख आचार्यलाई अनुरोध गरीन् । उपचारका लागि निःशुल्क व्यवस्था हुनसके नयाँ जीवन पाउने उनले बताइन् ।




Comments are closed.