सैनामैना आधुनिक र व्यवस्थित शहर बन्छ : अर्थमन्त्री

रुपन्देही ।सङ्घीय सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीको सैनामैना नगरलाई आधुनिक र व्यवस्थित शहरका रुपमा विकसित गरिने बताएका छन् । सैनामैनामा बुधबार भएका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले व्यवस्थित शहरीकरणको योजना बनाएर यसको विकास गर्नुपर्ने बताए ।

नगरको विकासका लागि गौरवका आयोजनाको काम धमाधम भइरहेको र त्यसमा बजेटको अभाव नहुने प्रतिबद्धता उनले जनाए । सैनामैना चक्रपथ, ढल प्रशोधन केन्द्र निर्माण, ज्येष्ठ नागरिक ग्राम, बौद्धकालीन सङ्ग्रहालय, लामीरह उच्चबाँध, कृषिउपज केन्द्र तथा खेल मैदान निर्माणकोे काम भइरहेको र सम्पन्न भएपछि नगरले आधुनिक शहरको रुप लिने विश्वास उनले व्यक्त गरे ।

लामीरह उच्चबाँध निर्माण आयोजना सैनामैनाको मात्र नभई प्रदेशकै गौरवको आयोजना भएको र यसले सैनामैनामा सिँचाइ र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उनले बताए । मन्त्री पौडेलले भने, “तीनै तहका सरकारको संयुक्त प्रयासमा यस क्षेत्रमा रहेका भौतिक पूर्वाधारलगायत अन्य ठूला तथा साना आयोजनाका काम सम्पन्न गरी सैनामैनालाई कङ्क्रिटको नभई व्यवस्थित शहरका रुपमा विकास गर्छौ ।”

footwear zone

अर्थमन्त्री पौडेलले सैनामैना–१ स्थित ऐतिहासिकस्थल रानीकुवाको नजीकै विशेष गरी गौतमबुद्धसँग सम्बन्धित पुरातात्विक वस्तुको सङ्ग्रह गर्ने आधुनिक व्यवस्थित सङ्ग्रहालयको निर्माण प्रक्रिया अगाडि बढेको जानकारी पनि दिए । बुटवल–चन्द्रौटा हुँदै धानखोलासम्मको सडक निर्माणका लागि सरकारले आवश्यक बजेटको प्रबन्ध गरिसकेको बताउँदै सो आयोजना र सैनामैना चक्रपथ निर्माण पूरा भएपछि नगर थप समृद्ध बन्ने विश्वास उनले व्यक्त गरे ।

सैनामैना पर्रोहा परमेश्वर मावि र पर्रोहा माविको नवनिर्मित भवन उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले शिक्षाको गुणस्तर कायम राख्ने विद्यालयलाई आर्थिक स्रोतको अभाव नहुने आश्वासन दिए । उनले सैनामैना–१ रानीवगियास्थित सैनामैना पर्रोहा परमेश्वर माविलाई नमूना विद्यालयका रुपमा विकास गर्ने गरी सरकारले प्रक्रिया अघि बढाएको जनाउँदै शैक्षिक गुणस्तरमा भने कसैसँग सम्झौता नगर्न विद्यालयलाई सुझाव दिए । बुधबार नै वडा नं ४ मा रहेको पर्रोहा माविको भवनको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले गुणस्तरीय शिक्षाका लागि सरकारले आवश्यक बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। पर्रोहा परमेश्वर मावि आठकोठे र पर्रोहा मावि १६ कोठे छ ।

अर्थमन्त्री पौडेलकै पहलमा सैनामैनामा विद्यालयका लागि नयाँ भवन निर्माण गरिएको सैनामैना पर्रोहा परमेश्वर माविका प्रधानाध्यापक नेत्रलाल पुरीले जानकारी दिए। “विद्यालय यो अवस्थामा आउन अर्थमन्त्री पौडेलको ठूलो देन छ”, उनले भने ।

You might also like

Comments are closed.