शुरबहादुर सिंह, कर्णाली । तातोपानी गाउँपालिका–६ जुम्ला हियाँखोला निवासी ६० वर्षीय विष्णुदेवी रोकाय १३ वर्षदेखि एकल जीवन बिताइरहेको छिन् । पारिवारिक वेदना र समाजको अपहेलनाले रोकाय सामाजिक, मानसिक र शारीरिकरुपले अस्वस्थ बन्दै गएकी छिन् । अहिले उनी साहराविहीन अवस्थामा छिन् ।
रोग र शोकले थलिएकी रोकायलाई जीवनमा एकपछि अर्को पीडा थपिरहे । अस्पतालको सुविधा नभएकै कारण २०५३/५४ तिर दुःख गरेर हुर्काइसकेका एक छोरा एक छोरी बिरामी हुँदा राम्रो उपचार नपाएरै बिते । उनीहरुको मृत्युले पारेको पीडा नसकिँदै २०५८ सालमा १८ वर्षको छोरा छक्क रोकायको पनि मृत्यु भयो ।
नेकपा माओवादीले चलाएको तत्कालीन सशस्त्र विद्रोहका क्रममा भूमिगत समयमा बम विस्फोट भएर छक्कको मृत्यु भएको थियो । छोराको पीडा नसकिँदै २०६६ सालमा श्रीमान् नरबहादुर रोकायको मृत्यु भयो । एकमाथि अर्को पीडा सहेर एकल जीवन जिइरहेकी रोकायले भने आफ्नो पीडाभन्दा ज्यादा समाजले भोग्नुपरेको समस्याबारे पनि चिन्ता गरीन् । “सानो छँदै छोराछोरी मरे । ती मरेका लालाबालाबाट लागेको पीडाको घाउ नमेटिँदै ठूलो छोरा बित्यो,” गहभरिको पीडा ओकल्दै उनले भनिन्, “पछि आएर आफ्नो जीवनसँगीले नै छोडेर गएपछि १३ वर्षदेखि एक्लो जीवन छ । एक्लो भएर होला, समाजले पनि निकै अपमान खेपिरहेकी छु । आखिर चित्त बुझाएर बस्दा पनि समाजले सुख दिएन ।”

अपमान सहेर एक्लै बस्दा कोही छिमेकीको सहयोग पाउन नसकेको बरु आफूमाथि कुटपिट भएको उनले पीडा पोखिन् । “पीडाकै बीचमा मेरा छोराछोरी छैनन् अब त्यो जग्गा के गर्दा ठीक होला भनेर मनमा कुरा खेलाए”, उनले भनिन्, “अनि सोचे कि पछि जन्मने पनि त मेरा छोराछोरी जस्तै हुन् । उनीहरुको उपचार गर्ने अस्पतालका लागि यो जग्गा दिनुपर्छ ।”
श्रीमान् नरबहादुर र छोरा छक्क रोकायको सम्झनामा गाउँ सरकारलाई जग्गादान गरेको उनले बताइन् । जग्गादान गरेको चार वर्षपछि मात्र आधिकारिक रुपमा गाउँ सरकारका नाममा गएपछि रोकायलाई अलि चित्त बुझेको छैन । उनले भनिन्, “जग्गा चार वर्षअघि दिए, पास अहिले भयो । अहिलेसम्म त अस्पताल निर्माण भइसक्थ्यो नि ?”
गरिब, दुःखीहरुको मुक्तिका लागि युद्ध लडेको छोराले आफ्नो बलिदानपछि सम्पूर्ण जग्गा पार्टीकै नाममा गर्नु आमा भनेकाले विशेषगरी उसकै योगदानको स्मरणमा सुरुमा नेकपा माओवादी पार्टीका नाममा जग्गादान खोजेको उनले जनाइन् । तर पछि पार्टीभन्दा पनि सबैले त्यसको लाभ लिन सकून् भनेर सोही वडाको ३८ लाख ८२ हजार ६ सय रुपैयाँ बराबरको जग्गादान गाउँ सरकारलाई गरिएको उनले बताइन् ।
तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले एकल महिला रोकायले दिलैदेखि गाउँ सरकारलाई जग्गा दान गरेको बताइन् । “आफँै साहराविहीन र पीडामा परेको महिलाले अरूको पीडा बुझ्ने कुरा चानचुने होइन,” अध्यक्ष न्यौपानेले भने, “गाउँपालिकाले उनको योगदानलाई उचित कदर गर्नेछ ।”
उक्त गाउँपालिकाका स्वास्थ्य संयोजक गुरुप्रसाद न्यौपानेले रोकायले दुई कित्ता गरेर तीन हजार ८८२.५ वर्गमिटर जग्गा गाउँपालिकाका अस्पतालका नाममा पास गरेको बताए । संयोजक चौलागाईंले उक्त जग्गामाथि अब गाउँ सरकारको सुविधा सम्पन्न अस्पताल निर्माण गरिने बताउँदै रोकाय दम्पती र छोरा छक्कसहितको इतिहास रहिरहने गरी योगदानको कदर गरिने जनाए ।
उनका अनुसार आफ्नो परिवारका सन्तान कोही नहुँदा वरिपरिकाले जग्गामाथि अहिले पनि आँखा गाडिरहेका छन् तर उनको संरक्षण गर्ने मान्छे कोही छैनन् । अहिले रोकाया तातोपानी गाउँपालिका–५ निवासी लक्ष्मण पाण्डेसँग आश्रय लिएर बसेकी छिन् । रोकायले भनिन्, “मेरै ठाउँमा बनाइदिएको भए कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई आवश्यक जग्गा दिने योजना थियो । तर त्यो मेरो धोको पूरा भएन । त्यो नभए पनि भोलिका दिनमा मेरा छोराछोरी जस्तो उपचार नपाएर कोही कसैले अकालमा ज्यान गुमाउनु नपरोस् भनेर आउँदो पुस्ताको स्वस्थ र सुरक्षित जीवनमा सहयोग पुगोस् भनेर भूमिदान गरेकी छु ।”
‘म छँदै अस्पताल बनेको हेर्ने धोको छ’ एकल महिला विष्णुदेवी रोकाय ज्वरो र कपाल दुख्ने रोगबाट गत साउनमा निकै थलिइन् । उनलाई त्यतिबेला बाँचुला भन्ने आशा हराएको थियो । सौभाग्यवशः उनी बाँच्न सफल भइन् । अहिले भने आँखा देख्न नसक्ने रोगले उनी ग्रसित छिन् । आँखा देख्न छोडेपछि यतिबेला रोकाय कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आँखाको शल्यक्रिया गर्न आएको छिन् । साहाराविहीन उनलाई तातोपानी–६ हाँकु जुम्लाका स्थानीयवासी लक्ष्मण पाण्डेले नै उपचारमा सघाएको छन् ।
सुर्खेत पुगेकी रोकायले रासससँग कुरा गर्दै भनिन्, “अस्पताल निर्माण गर्न भनेर चार वर्षअघि जग्गा दिएँ तर त्यसको उपभोग गरिएन । एक महिनाअघि मात्र पास गर्ने काम भयो । मैले दिएको जग्गामाथि अस्पताल बनेको हेर्ने मेरो निकै ठूलो धोको छ । जतिसक्दो गाउँ सरकारले छिट्टै अस्पताल निर्माण गरिदेओस् ।”




Comments are closed.