काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक आपसमा गाभिनका लागि सोमबार अन्तिम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
यी दुई वाणिज्य बैंकको मर्जर सम्बन्धी अन्तिम समझदारीपत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
ग्लोबल आईएमई बैंक र बीओकेबीच मर्जर प्रयोजनका लागि मूल्यांकन कर्ताबाट प्राप्त चल /अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरेर अन्तिम सम्झौतामा हस्ताक्षर भएको हो ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका सञ्चालक समितिका अध्यक्षहरूले वित्तीय क्षेत्रमा नयाँ अवसर ल्याई ग्राहक, सेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरोकार राख्ने सबैको हितलाई ध्यानमा राखेर काम गर्ने प्रतिवद्धता जनाए। ग्लोबल आईएमई बैंकका अध्यक्ष ढकालले मर्जरपछि बन्ने नयाँ ब्यांक ठूलो मात्र नभएर सम्पूर्ण हिसाबले सर्वोत्कृष्ट ब्यांक बनाउने प्रतिवद्धता जनाए।
नयाँ बैंकको नाम ग्लोबल आईएमई बिओके लिमिटेड हुनेछ। बैंको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आईएमई ब्यांकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य कायम रहनेछन्। सञ्चालक समितिमा ग्लोबल आईएमईका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित पाँच जना र बैंक अफ काठमाण्डूको तर्फबाट दुई जना रहने छन्।
मर्जर पश्चात् बैंकको कुल पूँजी कोष ५७ अर्ब, चुक्ता पूँजी ३५.७७ अर्ब, कुल निक्षेप ४०० अर्ब, कुल कर्जा ३७९ अर्ब भन्दा बढी पुग्नेछ । मर्जरपछि बन्ने नयाँ बैंक कुल पूँजी, चुक्ता पूँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक दावी गरिएको छ ।
मर्जरपछि बैंक को कुल पुँजी रु ५७ अर्ब, चुक्ता पूँजी रु ३५.७७ अर्ब पुग्नेछ। त्यसैगरी, बैंकको कुल निक्षेप रु ४ खर्ब र कुल कर्जा रु. ३७९ अर्ब पुग्नेछ। मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक हुने छ ।
मर्जरपश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि भएर ग्राहकहरूलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न एवं लगानीकर्तालाई उच्च प्रतिफल दिन सक्षम हुने बैंकले विश्वास लिएको छ ।
ग्लोबल आईएमई बिओके लिमिटेडमा यसअघि गाभिएकासहित पाँच वटा वाणिज्य बैंक, १० वटा विकास ब्यांक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन्। दुई बैंकको मर्जरपछि शाखा कार्यालयको संख्या ३८५, एटीएम ३६७‚ शाखारहित बैंकिङ २७५ र विस्तारितशाखा कार्यालय ६१ पुग्नेछ। विदेशमा पनि यो ब्यांकका तीन सम्पर्क कार्यालय रहनेछन्।




Comments are closed.