श्रृङ्गी र कोयाखोलामाथि झोलुङ्गे पुल

गोरखा । उत्तरी गोरखाको विकट क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकामा दुई झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । वडा नं ५ स्थित श्रृङ्गी र कोयाखोलामाथिको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । पुल निर्माण भएसँगै श्रृङ्गी गुम्बा आउजाउका लागि अब स्थानीयवासीले तीन घण्टा बढी लामो बाटो हिँड्नु नपर्ने भएको उहाँको भनाइ छ ।

“श्रृङ्गीखोला माथि पुल नबन्दा वर्षौँदेखि यहाँका नागरिक श्रृङ्गी गुम्बा पुग्नका लागि तीन घण्टा घुमेर जानुपर्ने बाध्यता थियो”, अध्यक्ष गुरुङले भने, “अब पुल बन्यो सबैलाई सजिलो भएको छ ।” दुईवटा पुल बनेपछि उत्तरी गोरखामा आउने पर्यटकका लागि यात्रा सहज हुने उनको भनाइ छ ।

नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्विस सरकारको सःशर्त अनुदानमार्फत रु एक करोड ९८ लाख ५० हजार ४८६ मा पुल निर्माण सम्पन्न गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । “झोलुङ्गे पुल निर्माणका लागि गाउँपालिकालाई रकम प्राप्त भएको थियो”, उनले भने, “उक्त रकमबाट दुईवटा पुल निर्माण गरिएको हो ।”

footwear zone

उनका अनुसार श्रृङ्गी खोलामाथिको पुलका लागि रु ९९ लाख ५४ हजार २५३ र कोयाखोलामाथिको पुलका लागि रु ९८ लाख ९६ हजार २३३ खर्च भएको छ । दुवै पुल उपभोक्ता समितिमार्फत निर्माण सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले जानकारी दिए ।

निर्माण सम्पन्न श्रृङ्गी पुलको लम्बाइ ११० मिटर र कोयाखोलामाथि निर्माण गरिएको पुल १२० मिटर लामो छ । दुवै पुलको मङ्गलबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष गुरुङ र श्रृङ्गी गुम्बाका प्रमुख टिल्कुकर्म लामाले उद्घाटन गरेका छन् । गुम्बाका प्रमुख लामाले पुल नबन्दासम्म भिरको बाटो भएर तलमाथि गुम्बा आउजाउ गर्नुपर्ने जोखिम भए पनि अब त्यसको अन्त्यमा भएको बताए ।

कोयाखोलामाथि बनेको पुलले भने साविक प्रोक, ल्हो र सामागाउँ अर्थात् चुमनुब्री गाउँपालिकाको वडा नं ४, २ र १ का स्थानीयवासीलाई ओहोरदोहोर गर्न सजिलो हुने वडा नं ५ का वडाध्यक्ष सोनाम ग्याल्जेन लामाले जानकारी दिए। “यसअघि स्थानीयवासीले ज्यान हत्केलामा राखेर हिँड्नुपथ्र्यो”, उनले भने, “अब नयाँ पुल बनेपछि सबै समस्या समाधान भएको छ ।” दुईवटै झोलुङ्गे पुल निर्माणले अब मनास्लु यात्रामा जाने तथा लार्के पास गर्ने पर्यटकलाई समेत सहज उनको भनाइ छ ।

You might also like

Comments are closed.