निर्माणमा ढिलासुस्तीले ६ वर्षसम्म पनि बनेन पुल

काठमाडौं । दाङमा २६ महिनामा बन्नुपर्ने पुल छ वर्षभन्दा बढी समय बितिसक्दा समेत पूरा हुन सकेको छैन । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण निर्माण पूरा हुन नसकेको हो ।

ग्रामीण सडकअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१५ को कोठरी–डुरुवा जोड्ने हापुर खोला पुल २०७५ साल वैशाख १८सम्ममा पूरा गर्ने गरी २०७३ पुसको १९ गते सुर्खेतस्थित सूर्य कन्स्ट्रक्सन प्रालीसँग करिब रु १३ करोडको लागतमा काम गर्ने गरी सम्झौता भएको थियो तर निर्माण व्यवसायीको चरम लापरबाहीका कारण चार वर्षअघि निर्माण सक्नुपर्ने पुल अझैसम्म सकिएको छैन ।

पुल निर्माणका लागि तीन पटक म्याद थप भइसक्दासमेत पूरा हुन नसकेपछि सडक डिभिजन कार्यालयले चौथो पटक गत असारमा पुनःम्याद थप गरेको कार्यालयका सूचना अधिकारी तथा इञ्जिनीयर अमिर सुवेदीले जानकारी दिए ।

footwear zone

समयमा काम गरेको भए करिब २६ महिनामै सकिनुपर्नेमा निर्माण व्यवसायीको लापरबाहीका कारण सम्झौता भएको छ वर्षभन्दा बढी समय भइसक्दासमेत निर्माणको काम नसकिएको उनको गुनासो थियो । सूचना अधिकारी सुवेदीका अनुसार पुलको सुपरस्ट्रक्चर निर्माणको काम सकिएको छ तर सवस्ट्रक्चर निर्माणको काम हुन सकेको छैन । पुलको अहिलेसम्म पिलर निर्माणको काम सकिएको छ । अब माथिको भाग बनाउन बाँकी छ ।

विसं२०८० साल असार मसान्तभित्र काम सक्न निर्माण व्यवसायीलाई पुनः एक वर्षका लागि म्याद थप गरिएको उनले बताए । सुरुमा पुल निर्माणका क्रममा निर्माण व्यवसायीले जग्गा विवाद र कोरोना संक्रमणको बहाना बनाउँदै पटकपटक काममा ढिलाइ गर्ने गर्दा समयमा पुल निर्माण हुन नसकेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

पुल निर्माणमा व्यवसायीले ढिला गरेको र छिटो काम सक्नुपर्ने भन्दै पटकपटक व्यवसायीलाई सूचना प्रकाशित गरेर ताकेता गरे पनि निर्माण व्यवसायीले बेवास्ता गर्दै आएको थियो ।

You might also like

Comments are closed.