काठमाडौं । नेपाल हस्तकला महासंघले सरकारबाट प्रस्तुत भएको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सकारात्मक र स्वागतयोग्य भएको बताएको छ ।
महासंघले आज प्रेस विज्ञप्ति जारी गर्दै नीति तथा कार्यक्रममा रोजगारमूलक, सीप विकास, सीप अभिवृद्धि र प्रविधि हस्तान्तरण सम्बन्धी तालिमहरु सञ्चालन गर्ने जिम्मेवारी हस्तकला महासंघलाई दिएको भन्दै उक्त कुरा सकारात्मक र स्वागतयोग्य भएको बताएको छ। महासंघका अध्यक्ष प्रचण्ड शाक्यले सरकारको बजेटमा हस्तकला क्षेत्रको समग्र विकासको लागि कार्यक्रम सहित बजेट बिनियोजन हुने अपेक्षा राख्दै नीति तथा कार्यक्रम सकारात्मक भएको बताए ।
नीति तथा कार्यक्रममा उल्लेख भएका हस्तकलाको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन जस्ता कार्यक्रममा सरकारसँग सहकार्य गर्न महासंघ तयार रहेको उनको भनाइ छ । त्यस्तै, महासंघले हस्तकला क्षेत्रको दिगो र दीर्घकालिन विकासको लागि कोशेढुङ्गा सावित हुने हस्तकलाग्रामको स्थापना र सार्क हस्तकला विकास केन्द्रको भवन निर्माणमा नीति तथा कार्यक्रममा नसमेटिनु दुःखद कुरा भएको बताएको छ ।

नीति तथा कार्यक्रमले उत्पादनशील र रोजगारीमूलक क्षेत्रमा कर्जा प्रवाह सहज बनाइने, आर्थिक विकास र गरिबी निवारणका लागि सहकारी क्षेत्रलाई उद्यमशीलता, उत्पादन र रोजगारसँग आवद्ध गरिने, निजी क्षेत्रलाई उत्पादनमूलक उद्योग स्थापना र सञ्चालन गर्न प्रोत्साहित गर्नेलगायत राम्रा कार्यक्रम अगाडि सारेको महासंघले जनाएको छ ।
त्यस्तै, साना तथा मझौला उद्योगमा नव प्रवर्तन सीपमूलक रोजगारी वृद्धि, नेपाली उत्पादनको विस्तार, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गरी समुन्नत अर्थतन्त्रको विकास गर्ने भन्ने नाराका साथ नेपाली उत्पादन तथा उपयोग अभिवृद्धि अभियान दशक प्रारम्भ गरिनेलगायतका राम्रा योजना अगाडि सारेको अध्यक्ष शाक्यले बताए।
त्यसैगरी, स्वदेशी उत्पादनलाई प्रवर्द्धन र विस्तार गर्न निजी क्षेत्रबाट सञ्चालित मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई सहयोग गर्ने, सार्वजनिक निकायको खरिदमा स्वदेशी वस्तुको हिस्सा बढाउँदै लगिने, गुणस्तर तथा क्यालिव्रेसन प्रयोगशालाको आधुनिकिकरण र स्तरोन्नति गरी निर्यात गुणस्तरको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न पहल गरिने योजनाले नेपालको हस्तकला क्षेत्रको विकासमा सहयोग पुग्ने महासंघको भनाइ छ ।
यस्तै, निर्यात विस्तारका लागि निजी क्षेत्रसँगको साझेदारीमा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने, मूर्त र अर्मूत साँस्कृतिक सम्पदाको संरक्षण र सम्वर्द्धन गरी सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने नीति लिने, सीप विकास तालीमलाई रोजगारी र उद्यमशीलतासँग आवद्ध गर्नेलगायतका नीति राम्रो भएको महासंघले जनाएको छ ।




Comments are closed.