११ महिनामा १५ खर्ब ७७ अर्ब व्यापार घाटा

साढे १७ खर्बको आयात, एक खर्ब ८५ अर्बको निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०७८र७९ को एघार महिनामा (साउनदेखि जेठसम्म) नेपालले करिब १६ खर्बको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको जेठसम्मको तथ्यांकअनुसार एघार महिनाको अवधिमा नेपालको व्यापार घाटा रु १५ खर्ब ७७ अर्ब ३८ करोड पुगेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा रु १२ खर्ब ६२ अर्ब ११ करोड बराबर व्यापार घाटा रहेको थियो । गत आवको सोही अवधिको तुलनामा चालु आवमा २५ प्रतिशतले व्यापार घाटा बढेको हो । विभागको तथ्यांक अनुसार एघार महिनाको अवधिमा नेपालले रु १९ खर्ब ४९ अर्ब बराबरको वैदेशिक व्यापार गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल वैदेशिक व्यापार २९ दशमलव ५ प्रतिशतले बढको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले रु १५ खर्ब ४ अर्ब ६१ करोड १८ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो ।

footwear zone

साढे १७ खर्बको आयात
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा नेपालमा साढे १७ खर्ब बढीको विदेशी वस्तुको आयात भएको छ । विभागको तथ्यांकअनुसार एघार महिनाको अवधिमा रु १७ खर्ब ६३ अर्ब २२ करोड बराबरको विदेशी वस्तुको आयात भएको हो । गत आर्थिक वर्षकोे सोही अवधिमा नेपालले रु १३ खर्ब ८३ अर्ब ३६ करोड बराबरको आयात गरेको थियो । गत आवको तुलनामा चालु आवमा २७.५ प्रतिशतले आयातमा वृद्धि भएको छ ।

त्यसैगरी, नेपालले चालु आर्थिक वर्षको ११ महिनामा रु एक खर्ब ८५ अर्ब ८३ करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आवको सोही अवधिमा रु एक खर्ब २१ अर्ब २५ करोड बराबरको निर्यात भएको थियो । गत आवको तुलनामा चालु आवमा ५३.३ प्रतिशतले निर्यातमा वृद्धि भएको हो ।

साढे २ खर्बको पेट्रोलियम पदार्थको आयात
चालु आर्थिक वर्षको एघार महिनाको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै साढे दुई खर्ब बढीको नेपाली रुपैयाँ बाहिरिएको छ । भन्सारको तथ्यांक अनुसार डिजेल, पेट्रोल तथा खाना पकाउने एलपी ग्यासको आयातमा रु दुई खर्ब ६७ अर्ब २९ करोड ९८ लाख ४३ हजार नेपाली रुपैयाँ बहिरिएको हो ।

जसमा सबैभन्दा धेरै डिजेल आयातमा रु एक खर्ब ४५ अर्ब २१ करोड ९३ लाख ५० हजार, पेट्रोलमा रु ६२ अर्ब ९१ करोड ९८ लाख ४६ हजार र एलपी ग्यासको आयातमा रु ५९ अर्ब १६ करोड ६ लाख ४७ हजार बढी बाहिरिएको छ ।

एघार महिनाको अवधिमा नेपालमा रु ५३ अर्ब २५ करोड ५१ लाख ६२ हजार बराबरको पाम आयल, रु ४८ अर्ब ७८ करोड ४६ लाख ८७ हजार बराबरको स्टिल आइरन र रु ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार बढीको मोबाइल आयात भएको छ ।

त्यस्तै, एघार महिनाको अवधिमा नेपालबाट रु एक खर्ब ९० अर्ब २३ करोड ८६ लाख ३२ हजार बढीको सोयाबिन तेल, रु ६६ अर्ब ८६ करोड ८९ लाख ७२ हजार बढीको पाम आयलको निर्यात भएको छ ।

You might also like

Comments are closed.