टेकराज पोखरेल, नवलपुर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीका अवसरमा उनीसम्बन्धी चित्र कोरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित किसान आर्ट ग्यालरीमा मंगलबार आयोजित ‘महाकविका विम्ब २०७८’ मा १९ वर्षीय किशोरदेखि ७० वर्षीय कलाकार एकै ठाउँमा बसेर देवकोटाको चित्र कोरेका छन् ।
महाकवीप्रति श्रद्धासुमन अर्पण गर्न कलाकार भेला भएर चित्र कोरिएको कलाकारका अध्यक्ष भीम शर्माले बताए । लक्ष्मी जयन्ती मनाउँदै गर्दा कलाकार एकै ठाउँमा भेला भएर क्यानभासमा चित्र कोर्दा कलाकालाई प्रोत्साहन हुने उनले सुनाए । “आफूले गरेको कामबारे छलफल पनि हुने अनि कलाको गुणस्तर पनि वृद्धि हुने भएकाले सबै कलाकार एकै ठाउँमा जम्मा भएर तस्वीर कोरिएको हो” उनले भने,“विभिन्न अवसर पारेर चित्र कोरिदा चित्रकलालाई अभियानकै रुपमा लैजान सजिलो हुन्छ ।”
नवलपरासी (बर्दघाट–सुस्तापूर्व), चितवन, इटहरीलगायतका ठाउँबाट जम्मा भएका कलाकारले देवकोटासम्बन्धी चित्र कोरेका छन् । आज बिहान कोरिएको चित्र केही दिनसम्म सोही स्थानमा प्रदर्शनीका लागि राखिने कलाकार शर्माले जानकारी दिए । “चित्रमा एकरुपता ल्याउनका लागि सबै क्यानभासको एउटै आकारको छ” उनले भने, “एउटै आकारमा कोरिएका चित्रले देवकोटा र उनको योगदानका बारेमा बुझ्न समेत सहज हुन्छ ।

कलाकारका उपाध्यक्ष प्रकाश थापा ‘प्रथा’ले बेलाबेलामा कलाकार भेला भएर चित्र कोर्दा कलामासमेत निखारता आउने जानकारी दिए । “धेरै कलाकार एकै ठाउँमा भेला भएर चित्र कोर्ने अवसर मिल्छ” उनले भने, “चित्र कोर्दा हुने कमीकमजोरीको बारेमा समेत छलफलसँगै सुधार गर्न पनि सकिन्छ ।” चित्रकलामा रुचि भएका कलाकार सहभागी भएर देवकोटालाई सम्झिने काम गरिएको कलाकार थापाले बताए ।




Comments are closed.