सिसिटिभी जडानसँगै अपराध नियन्त्रणमा कमी आउने विश्वास

काठमाडौं । महानगरीय प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले सिसिटिभी जडानसँगै उपत्यकाको अपराध नियन्त्रणमा कमी आउने बताए। चन्द्रागिरी नगरपालिकाअन्तर्गत नागढुङ्गा–कलङ्की सडकखण्डमा जडान गरिएका अत्याधुनिक सिसी क्यामराको ‘समुद्घाटन तथा हस्तान्तरण समारोहमा’उनले अपराध नियन्त्रण, अनुसन्धान तथा सडकमा हुने ट्राफिक जाम सडक दुर्घटना न्यूनीकरणमा सहज पुग्ने बताए ।

“आम नागरिकको विकास समृद्धि र सुरक्षाको लागि सरकार र नागरिक दुवैको दायित्व उत्तिकै छ, सबै मिलेर सरकारले परिकल्पना गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा पूरा गर्नुपर्छ”, उनले भने । समाजमा हुने घटना र दुर्घटना न्यूनीकरणको लागि सडकमा राखिएको सीसी क्यामराले अपराध अनुसन्धानमा निकै फलदायी हुने उनको भनाइ छ ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले राजमार्ग क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नगरपालिकाको रु एक करोड लागतमा अत्याधुनिक प्रविधिको सीसी क्यामरा जडान गरेको जानकारी दिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराई, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले समाजमा अपराध मुक्त र दुर्घटना मुक्त बनाउने अभियानलाई सार्थकता प्रदान गर्न र ट्राफिक व्यवस्थापनमा सीसी टिभि महत्वपुर्ण हुने बताए ।

footwear zone

नगरपालिकाका प्रवक्ता एवम् वडा–११ का वडाध्यक्ष हरिभक्त महर्जनले चन्द्रागिरिले सबै वडामा सिसी क्यामरा जडान गर्ने बताए । मुख्य राजमार्ग क्षेत्रमा नगरपालिकाले सिसी क्यामरा जडान गरेपनि भित्रि बाटोमा भने वडाले सिसी क्यामरा जडान गर्ने प्रवक्ता महर्जनको भनाइ छ । नगरपालिका–२ नागढुङ्गादेखि १५ वडा कलङ्कीसम्म राजमार्ग क्षेत्रमा ६८ क्यामरा जडान भएका छन् । उक्त क्यामराको निरीक्षण महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गर्नेछ ।

You might also like

Comments are closed.