राज्य–निजी क्षेत्र साझेदारीमा सरकारी रुग्ण उद्योगहरु सञ्चालन गरौँ : ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रबीच साझेदारीमा बन्द रहेका सरकारी उद्योगहरु पुनः सञ्चालन गर्न सकिने बताएक छन् ।

शनिबार गोरखा उद्योग वाणिज्य संघको ४६औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकार र निजी क्षेत्रको बीचमा साझेदारी गरी गोरखकाली रबर उद्योग लगायतका बन्द तथा घाटामा रहेका उद्योगहरु सञ्चालन गर्न सकिने बताए ।

“यहाँ गोरखकाली रबर उद्योग सञ्चालनको कुरा उठेको छ । यस्ता उद्योगहरु धेरै बन्द अवस्थामा छन् । निजी क्षेत्र र सरकारबीच साझेदारी हुन सकेमा हामीले एउटा कन्सोर्टिएम बनाएर त्यस्ता उद्योगहरुमा लगानी गरी तिनीहरुलाई पुनः सञ्चालन गर्न सकिन्छ,” उनले भने ।

footwear zone

वरिष्ठ उपाध्यक्ष ढकालले पुँजीगत खर्च बढाउन बजेट खर्च गर्ने परम्परागत सरकारी तरिकामा परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । ढकालले सरकारी ढुकुटीमा खरबौ राजश्व जम्मा रहेको तर खर्च गर्ने पुरानो र परम्परागत शैलीका कारण खर्च बढ्न नसकेको बताएका छन् ।“अहिलेसम्म सरकारी ढुकुटीमा ४ खर्ब रुपैयाँभन्दा धेरै राजश्व संकलन भइसकेको छ । यो पौष मसान्तभित्र थप एक खर्ब रुपैयाँ राजश्व संकलन हुनेछ । तर राजश्व संकलन केन्द्रिकृत हुने र यसलाई खर्च गर्ने मेकानिजम् नहुनाले बजारमा तरलताको समस्या देखा परेको छ,” उनले भने ।गत पाँच महिनामा लक्ष्य भन्दा बढी राजश्व संकलन भएको बताउँदै उनले यसमा निजी क्षेत्रको योगदान ठूलो रहेको बताए ।

ढकालले सबै व्यवसायीहरुले नाफामात्र नहेरेको बताउँदै उनीहरुले समाजप्रति उत्तरदायी भएर गरेको सेवा भावनालाई पनि सबैले सम्मान गर्नुपर्ने बताए ।
मुलुकको राजश्वमा ठूलो योगदान रहेको निजी क्षेत्रलाई सरकारको मर्यादाक्रममा समेत नसमेटिएकोमा उनले गुनासो गरे ।

“मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढि योगदान निजी क्षेत्रको रहेको छ । सरकारी राजश्व संकलनमा पनि निजी क्षेत्रले सहयोग गरेको छ । त्यसैले निजी क्षेत्रलाई सँगसँगै लिएर अगाडि बढ्दा सरकारलाई पनि सहयोग पुग्नेछ,” उनले भने । बजार अनुगमनका नाममा व्यवसायीहरुले दुख पाएको र त्यसलाई मर्यादित बनाउनुपर्ने उनले बताए ।

उपाध्यक्ष ढकालले स्थानीयस्तरमा लगानीका सम्भावनाहरु भएमा महासंघको तर्फबाट तथा व्यक्तिगत साझेदारी गर्न आफू तयार रहेको बताए ।
“तपाई हामीबीच व्यवसायिक सम्बन्ध भयो भने हामी पोष्टमा हुँदा र नहुँदा पनि सम्बन्ध रहने हुन्छ । यहाँका स्थानीय सम्भावनाहरु के के छन् ।उत्पादनमुलक उद्योग, पर्यटन वा अन्य कुनै पनि व्यवसायमा जोडिन सकियो भने यो सम्बन्ध रहिरहन्छ,” उनले भने ।

You might also like

Comments are closed.