महासंघका उपाध्यक्ष चन्द्र ढकाल अस्पतालबाट डिस्चार्ज, साधारसभाको तयारीमा छिट्टै जुट्ने संकेत

काठमाडौं । कोरोनालाई जितेका नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल अस्पतालबाट घर फर्किएका छन् । बुधबार घर फर्किएपनि चिकित्सकको आग्रह अनुसार उनले अझै केही दिन आराम गर्नुपर्नेछ ।

‘महासंघको आसन्न साधारणसभा सम्पन्न गर्नुपर्ने तयारीको काममा जुट्नुपर्ने बेलामा बिरामी भई बस्नु पर्यो,’ उनले भनेका छन्, ‘अझै केही दिन चिकित्सकले आराम गर्नुपर्ने भनेकाले छिट्टै नै म सबै साथीहरुसँग सहकार्यमा जुट्ने नै छु ।’

महासंघको आसन्न साधारण सभाको सिलसिलामा खटिरहेका र जिल्लातिर समेत पुगेका साथीहरुलाई स्वास्थ्य सजगता अपनाउन र सपरिवार सुरक्षित भएर रहन उनले आग्रह गरेका छन् । मंसिर ११ र १२ गते हुने महासंघको साधारण सभा तथा निर्वाचनमा ढकाल वरिष्ठ उपाध्यक्षका उम्मेदवार हुन् ।

footwear zone

असोज १२ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका ढकाल आइतबारबाट कोरोना मुक्त भएका हुन् ।

अस्पतालबाट डिस्चार्ज भएपछि उनले फेसबुकमा पोष्ट गरेको स्टाटस् यस्तो छ :

कोभिड–१९ संक्रमणबाट मुक्त भई आज (बुधबार) अस्पतालबाट घर आएको छु । यस क्षणमा मेरो स्वास्थ्यलाभको कामना गर्ने दिदीबहिनी तथा दाजुभाई, विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरु, विभिन्न राजनीतिक दलका नेताज्यूहरुलगायत सबै आदरणीय महानुभावहरुमा विशेष धन्यवाद ज्ञापन गर्दछु ।

नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध सबै साथीहरु, देशका समग्र व्यवसायी साथीहरु, एसोसिएटेड सदस्य, वस्तुगत संघ, जिल्ला तथा नगर सदस्यहरु, व्यावसायिक घरानालगायत विभिन्न पेशागत संघ महासंघ र आवद्ध सबैप्रति म कृतज्ञ छु । यहाँहरुको शुभेच्छाले नै मलाई संक्रमणका विरुद्ध लड्न आत्मबल मिलेको महसुस मैले गरेको छु ।

बिरामी भएका बेला मलाई र मेरो परिवारका सदस्यहरुलाई गर्नुभएको एक कल फोन र एसएमएसले कति ठूलो औषधीको काम गर्दोरहेछ भन्ने कुरा मैले यसपटक राम्रोसँग महसुस गरेको छु । यस क्षणमा म मलाई जस्तै माया र स्वास्थ्यलाभको कामना यस महाव्याधिबाट संक्रमित सबै दिदीबहिनी तथा दाजुभाईले पाउन सकुन् भन्ने कामना गर्न चाहन्छु र उहाँहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

साथै यस अप्ठेरो परिस्थितिमा स्वदेश तथा संसारभरि रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई स्वास्थ्य सजगता र सतर्कता अपनाई सपरिवार सुरक्षित रहनुहुन पनि विशेष आग्रह गर्दछु ।

म नेपालका सबै व्यवसायी साथीहरु र विशेषगरी नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा कार्यसमिति र समग्र साथीहरु, जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा साथीहरु, वस्तुगत संघका अध्यक्ष तथा साथीहरु प्रति आभारी छु । उहाँहरुले मेरो स्वास्थ्यप्रति राख्नुभएको चासो र चिन्ता नै मेरा लागि कोरोना भाइरसलाई जित्ने दरिलो औजार बनेको महसुस मैले पटक पटक गरेको छु ।

हाम्रो आसन्न साधारणसभा सम्पन्न गर्नुपर्ने तयारीको काममा जुट्नुपर्ने बेलामा म आफैँ बिरामी भई बस्नु पर्यो र अझै केही दिन चिकित्सकले आराम गर्नुपर्ने भनेकाले छिट्टै नै म सबै साथीहरुसँग सहकार्यमा जुट्ने नै छु । हाम्रो आसन्न साधारण सभाको सिलसिलामा खटिरहनुभएका र जिल्लातिर समेत पुग्नुभएका साथीहरुलाई स्वास्थ्य सजगता अपनाउन र सपरिवार सुरक्षित भएर रहन पनि विशेष आग्रह गर्दछु । धन्यवाद ।

You might also like

Comments are closed.