काठमाडौं । कला सिर्जनामा क्रियाशील उपत्यकाका चित्रकारले ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको भक्तपुरको चाँगुनारायण र त्यस आसपासका दृष्य जलरङमा उतारेका छन् । शनिबारीय चित्र सिर्जनाअन्तरगत पछिल्ला चार शनिबार कलाकार चाँगुनारायण मन्दिरलाई केन्द्रित बनाएर जलरङले क्यानभास रङ्ग्याएका हुन् ।
उक्त कार्यशालामा २० कलाकार सहभागी रहेको शनिवासरीय चित्रकला कार्यशाला सञ्चालन गर्दै आउनुभएका कलाकार दिवेश प्रधानले जानकारी दिनुभयो । पुरातात्विक महत्वलाई ध्यानमा राखेर सम्बद्ध विज्ञसँग छलफल गरी कला सिर्जना गरिएको उनले बताए । तयार भएका सिर्जना नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आगामी वैशाखमा आयोजना गर्ने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी गराइने जनाइएको छ ।
नेपालका प्रख्यात देवस्थलमध्ये प्रमुख चाँगुनारायणमा तयार पारिएको चित्रको आज मन्दिर परिसरमै प्रदर्शनसमेत गरिएको थियो । यहाँ कलात्मक मन्दिरका संरचना र मूर्ति रहेको छ । कला प्रदर्शनीका क्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र ऐतिहासिक क्षेत्रमा कला सिर्जना गरेर यसको महत्वलाई उजागर गरेकामा कलाकारलाई धन्यवाद दिँदै आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

नेपाल महात्म्यका अनुसार चाँगुको ठुटोबाट प्रकट भई चाँपको ठुटोमा निवास गरेका नारायणलाई चाँपानारायण÷चम्पकनारायण भन्ने गरिएको र पछि चाँगुनारायण भन्न थालिएको स्थानीयवासी बताउँछन् । यो क्षेत्रलाई डोलागिरि पनि भन्ने गरिन्छ । यहाँ नारायणको पूजाआजा गर्नाले भक्तको मनोकामना पूरा हुने विश्वास छ । यहाँ पूर्णिमा र बुधबार बढी पूजाआजा हुन्छ । यहाँ अद्वितीय कलाकृति छन् ।
चाँगुनारायण उपत्यकामा रहेको प्राचीन मन्दिर हो । कला सिर्जनाले भरिपूर्ण, ऐतिहासिक, पुरातात्विक दृष्टिले मात्रै होइन धार्मिक पर्यटकीय महत्वसमेत रहिआएको छ । सन् १९६९ मा यसलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको थियो ।




Comments are closed.