टेकराज पोखरेल, नवलपुर । चितवन राष्ट्रिय निकुञ्जले भरिएको माडी नगरपालिका । निकुञ्जले चारैतिरबाट घेरिएको चितवनको क्षेत्र नं ३ मा पर्ने माडी नगरपालिकामा बर्सेनि खहरे खोलाले दुःख दिइरहन्छ । यस नगरपालिकाको परुई खोला किनारमा रहेको चेपाङ बस्ती राहतकै भरमै बाँचिरहेको छ ।
करिब ५५ घरपरिवार रहेको यो गाउँको अवस्था निकै दयनीय छ । विभिन्न सामाजिक सङ्घसंस्था तथा व्यक्तिले दिएको राहतको भरमा यहाँका अधिकांश चेपाङ परिवारको गुजारा चलिरहेको छ । केही परिवारका सदस्यले मात्र मौसमी मजदुरी गर्दै आएका छन् ।
गरिबीको परिभाषा परुई खोला किनारको चेपाङ बस्तीमा पुग्दा थाहा हुन्छ । गाउँका ५५ परिवारकै स–साना छाप्रा छन्, जहाँ उनीहरुले घाम र पानीबाट आफूलाई जोगाउनुपर्ने बाध्यता छ । एउटा सानो झुपडीमा पाँच÷सात जना बसिरहेका हुन्छन् । यो गाउँमा न बिजुली बत्ती छ न अन्य कुनै भौतिक पूर्वाधारको विकास । न खेती गर्ने जग्गा/जमीन, न त किनेर खाने आम्दानी नै । सङ्घसंस्थाले गरेको सहयोगकै भरमै यो बस्तीका मानिस बाँचिरहेका छन् ।

विभिन्न सामाजिक सङ्घसंस्था तथा दाताहरुबाट प्राप्त खाद्यान्नकै भरमा गुजारा चलेको छ परुई खोला किनारका चेपाङ समुदायको । राहत पाउँदा यहाँका चेपाङको अनुहारमा खुशी देख्न सकिन्छ, अघिपछि फेरि अवस्था उस्तै हो । खाद्यान्न वितरणका दिन चेपाङ बालबालिकाहरु “आज त टन्न चामलको भात खान पाइने भयो”, भन्दै एक अर्कासँग भलाकुसारी गर्दै खुशी साटिरहेका देख्न सकिन्छ ।




Comments are closed.