पोखरा । सौन्दर्य व्यवसायको क्षेत्रमा करिब ३ दशक लामो अनुभव संगालेकी महिला उद्यमी चिनु गुरुङले ‘सिजी ब्रोज एण्ड नेल्स ट्रेनिङ इन्स्टिच्युट’ सञ्चालनमा ल्याउने भएकी छन् । सिजी ब्रोजको औपचारिक उद्घाटन माघ १२ गते सोमबार हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा गुरुङले जानकारी दिइन् ।
लगानी विस्तारका क्रममा गुरुङले अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न ट्रेनिङ इन्स्टिच्युट सञ्चालनमा ल्याएकी हुन् । आधुनिक समयको माग अनुसार अत्याधुनिक सेवा सुविधासहित महिलाहरुलाई नेल सृङगार र आइब्रो सृङगार र मेकअप सम्बन्धी तालिम इन्स्टिच्युटबाट प्रदान हुने उनले बताइन् ।
गुरुङ व्युटि एकेडेमी अन्तर्गत गुरुङले सेवा विस्तार गरेकी हुन् । पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको एकेडेमीका अन्य शाखाहरु पृथ्वीचोक, भाटभटेनी, बगर, महेन्द्रपुल, दुलेगौंडामा छन् । सबै शाखाहरुमा गरी ४६ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

पोखरामा सौन्दर्य व्यवसायलाई स्थापित गराउन सफल चीनु गुरुङ पोखराकी सफल महिला उद्यमी हुन् । २०५० सालमा भारतको मन्द्रासबाट सौन्दर्य तालिम लिएर पोखरा आएकी गुरुङसँग पोखरामा केही गर्ने सोच पलायो । फलस्वरुप २०५२ मा ३० हजार लगानीमा पोखराको पृथ्वीचोकमा गुरुङ व्युटीपार्लर स्थापना गरेकी हुन् ।

गुरुङले हालसम्म हजारौं विद्यार्थीलाई सौन्दर्य शिक्षा प्रदान गरिसकेकी छन् । उत्पादित जनशक्ति मध्ये प्रायले देशका विभिन्न ठाउँमा व्यवसाय सञ्चालन गरिरहेको बताउँछिन् उनी । आफ्नो एक्लो प्रयासबाट व्युटीपार्लर व्यवसायमा लागेकी गुरुङ सफल सौन्दर्य प्रशिक्षक पनि हुन् ।
प्रशिक्षार्थीलाई व्यवसायमा लाग्न प्रेरणा प्रदान गर्दै उनले प्रशिक्षण दिन्छिन् । विदेशका नयाँनयाँ प्रविधिलाई भित्र्याउँदै विद्यार्थीलाई प्रशिक्षण दिने गरेको उनी बताउँछिन् । सौन्दर्य व्यवसायबाट धेरैको प्रेरणा बन्न सफल गुरुङले आफ्नो एकेडेमीमा गरिब तथा जेहन्दार विद्यार्थीलाई विशेष छुटमा अध्ययनको व्यवस्थासमेत मिलाएकी छन् । आफूले उत्पादन गरेका विद्यार्थीहरु विभिन्न ठाउँमा कामका लागि माग हुने गरेको गुरुङ बताउँछिन् । व्यवसायमा प्रयोग हुने केही प्रडक्टहरु कम्पनी आफैले उत्पादनसमेत गर्दै आइरहेको छ ।




Comments are closed.